काठमाडौं । भारतले पाकिस्तानका ९ वटा आतंककारी स्थलहरूमा सञ्चालन गरेको ‘अपरेशन सिन्दुर’ लाई नेपाल समाजवादी पार्टी (नेसपा) ले समर्थन जनाएको छ।
पार्टी अध्यक्ष महेन्द्र राय यादवको नेतृत्वमा रहेको नेसपाले आज एक विज्ञप्ति जारी गर्दै उक्त कारबाहीलाई आवश्यक र समयोचित भन्दै समर्थन जनाएको हो। बैशाख ९ गते पाकिस्तानमा भएको आतंकवादी हमलामा परी नेपाली नागरिक सुदीप न्यौपानेको मृत्यु भएपछि नेसपाले आतंकवादविरुद्ध भारतले चालेको कदमलाई न्यायोचित भनेको हो।
पार्टीका महासचिव रमेश प्रसाद यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “भारतले पाकिस्तानका ९ वटा आतंककारी स्थलहरूमा लक्षित अपरेशन सिन्दुर मार्फत गरिएका आक्रमणहरू नेपाल समाजवादी पार्टीले पूर्ण समर्थन गर्दछ। बैशाख ९ गते भएको आतंकी हमलामा नेपाली नागरिक सुदीप न्यौपानेले ज्यान गुमाएका कारण यो कारबाही पीडितप्रति न्याय दिलाउने, आतंकवादविरुद्धको स्पष्ट सन्देश दिने र मानवताको रक्षाका लागि गरिने प्रयासको रूपमा लिन सकिन्छ।”
विज्ञप्तिमा थप उल्लेख गरिएको छ कि आतंकवादीहरूको सुरक्षित आश्रयस्थल ध्वस्त पार्ने कार्यले दक्षिण एशियामा शान्ति, स्थायित्व र सुरक्षाको प्रवर्द्धन गर्ने विश्वास पार्टीले लिएको छ।
प्रकाशित मिति: २५ बैशाख २०८२, बिहिबार













प्रतिक्रिया