एजेन्सी । तेल अभिभ नजिकैको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा हुथी विद्रोहीले आक्रमण गरेपछि इजरायलले इरानविरुद्ध कडा चेतावनी दिएको छ। इजरायली रक्षा मन्त्री इजराएल काट्जले एक विज्ञप्तिमार्फत इरानलाई हमाससरहको अवस्थामा पुर्याइने चेतावनी दिएका छन्।
उनले भने, “अब छद्म युद्धको युग समाप्त भएको छ। दुष्टताको धुरी ध्वस्त पारिनेछ। इजरायलले हतियार आपूर्ति गर्ने, आतंकवादी समूहलाई आर्थिक सहयोग पुर्याउने जो–कोहीलाई लक्षित गरेर कारबाही गर्नेछ।”
काट्जले इरानलाई प्रत्यक्ष रूपमा जिम्मेवार ठहर गर्दै थपे, “हामीले बेरुतमा हिजबुल्लाह, गाजामा हमास र दमास्कसमा अपदस्थ राष्ट्रपति बशर अल असदसँग जे गरेका थियौं, तेहरानमा पनि त्यही हुनेछ।”
हिजबुल्लाह, हमास र यमनका हुथी विद्रोहीहरू इरानको ‘प्रतिरोधको धुरी’ का मुख्य घटक मानिन्छन्। सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमाथि आक्रमण गरेपछि हिजबुल्लाहले समेत आक्रमण सुरु गरेको थियो। नोभेम्बरमा युद्धविराम भएपछि हालसम्मको एक वर्षमा इजरायली सेनाले हिजबुल्लाहलाई कमजोर बनाएको छ भने हमासको नेतृत्व ध्वस्त पारेको छ।
हालै हुथी विद्रोहीहरूले गाजामा प्यालेस्टिनीहरूमाथि भएको इजरायली आक्रमणको विरोधमा तेल अभिभ नजिकैको विमानस्थलमा आक्रमण गरेका थिए। यद्यपि इरानले यसमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ।
जवाफस्वरूप इजरायलले यमनको राजधानी साना र वरपरका ठूला पूर्वाधारमा आक्रमण गरेको छ। सानाको विमानस्थल र विद्युत गृहहरूलाई लक्षित गर्दै हुथी विद्रोहीविरुद्ध कारबाही थालिएको इजरायली अधिकारीहरूले जनाएका छन्।
यसैबीच, युद्धविरामका लागि पहल लिएको ओमानले अमेरिकी पक्ष र हुथी विद्रोहीबीच सम्झौता गराएको जनाएको छ। उक्त सम्झौताले रेड सीमा ‘नौवहन स्वतन्त्रता’ सुनिश्चित गर्ने दाबी गरिएको छ।
तर, हुथी विद्रोहीहरूले अमेरिकी आक्रमण रोकिए पनि गाजामा इजरायली कारबाही जारी रहेसम्म रेड सीमा इजरायल र उसको समर्थक राष्ट्रका जहाजमाथि आक्रमण जारी राख्ने चेतावनी दिएका छन्।
प्रकाशित मिति: २५ बैशाख २०८२, बिहिबार













प्रतिक्रिया