काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह हाल एक सातादेखि नगरकोटमा बसोबास गरिरहेका छन् । विश्वस्त स्रोतका अनुसार शाह वैशाख १५ गतेदेखि नगरकोटस्थित सोल्टी वेस्ट इन्ड रिसोर्टमा परिवारसहित बसेका हुन् ।
नगरकोटमै रहँदा उनले राजावादी नेताहरूसँग नियमित भेटघाट तथा छलफल जारी राखेको स्रोतले जनाएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपाल अध्यक्ष कमल थापा लगायत राजावादी शीर्ष नेताहरूसँग शाहले नगरकोटमै गोप्य रुपमा भेट गरेका छन् । त्यस्तै दोस्रो तहका नेताहरू — राजेन्द्र गुरुङ, शरद राज पाठक, प्रेम बलायर, निरञ्जन थापा, निराजन बमलगायतसँग पनि उनले छलफल गरेका छन् । भेटघाटको मूल विषय भने राजसंस्थाको पुनर्स्थापना र भावी रणनीतिमा केन्द्रित रहेको बताइएको छ ।
राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले पनि शाह र थापाबीचको भेट नगरकोटमा भएको पुष्टि गरेका छन् । यद्यपि, उनले भेटमा के–कस्तो कुरा भयो भन्ने विषयमा भने खुलाउन चाहेनन् ।
अन्य स्रोतका अनुसार, पूर्वराजाले सबै राजावादी शक्तिलाई एकताबद्ध गर्दै नवराज सुवेदीको नेतृत्वमा अघि बढ्न आग्रह गरेका छन् । अघिल्लो चरणमा सुवेदी नेतृत्वको समिति नमान्ने भनिएका राप्रपा अध्यक्ष लिङ्देनले समेत अहिले उक्त नेतृत्व स्वीकार गरिसकेको जनाइएको छ ।
पूर्वराजाको सक्रियतासँगै बिहीबार पत्रकार सम्मेलन गर्दै राजावादी समूहले ‘राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन समिति’ गठन गर्दै जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् । उक्त कार्यक्रममा लिङ्देन, थापा सहित अधिकांश राजावादी नेता सहभागी थिए ।
पूर्वराजा शाह केही समय नगरकोटमै बस्ने तयारीमा रहेको र उनी कहिलेकाहीँ अन्य स्थानमा पनि आवतजावत गरिरहने सहयोगीहरूले बताएका छन् । एक सहयोगीका अनुसार, “उहाँ अहिले परिवारसहित नगरकोटमै हुनुहुन्छ, यद्यपि उहाँको दैनिक गतिविधिबारे विस्तृत जानकारी छैन ।”
प्रकाशित मिति: २६ बैशाख २०८२, शुक्रबार













प्रतिक्रिया