काठमाडौं । भारत सरकारले सामाजिक सञ्जालमा पाकिस्तानसम्बन्धी सामग्रीहरूमा कडाइ गरेसँगै, सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पूर्व ट्विटर) ले भारतमा सञ्चालित ८,००० भन्दा बढी खाताहरू ब्लक गरेको छ।

एक्सको ग्लोबल गभर्नमेन्ट अफेयर्स टिमले सार्वजनिक गरेको विज्ञप्तिमा भारत सरकारको निर्देशनअनुसार यी खाताहरूमा पहुँच रोकिएको स्पष्ट गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “भारत सरकारबाट प्राप्त कार्यकारी आदेशको पालना गर्दै हामीले भारतमा ८,००० भन्दा बढी खाताहरू ब्लक गरेका छौँ। यदि यस आदेशको पालना नगरिएको खण्डमा भारतमा रहेका हाम्रा कर्मचारीलाई गम्भीर जरिवाना वा जेल सजायको जोखिम हुने जानकारी प्राप्त भएको छ।”

advertisement

एक्सका अनुसार सरकारको आदेशमा केही अन्तर्राष्ट्रिय समाचार संस्था र समाजका प्रतिष्ठित प्रयोगकर्ताहरू पनि परेका छन्। यद्यपि, ब्लक गरिएका खाताहरूको नाम भने सार्वजनिक गरिएको छैन।

एक्सले भारत सरकारको आदेश पालना गरे पनि यसप्रति असहमति जनाएको छ। “सम्पूर्ण खाताहरू बन्द गर्नु अनावश्यक मात्र होइन, अभिव्यक्ति स्वतन्त्रताको समेत उल्लङ्घन हो,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

एक्सले यो निर्णय सहज नभए पनि भारतमा सेवा निरन्तर राख्न बाध्य भएकाले यस्तो कदम चालेको जनाएको छ। “भारतमा एक्सको उपस्थितिलाई कायम राख्नु नागरिकको सूचनामा पहुँच सुनिश्चित गर्न आवश्यक छ,” विज्ञप्तिमा भनिएको छ।

यसअघि बिहीबार, इन्स्टाग्राम सञ्चालक मेटाले पनि भारत सरकारको अनुरोधमा एक प्रमुख मुस्लिम समाचार पृष्ठ भारतीय प्रयोगकर्ताहरूका लागि ब्लक गरेको थियो।

यस घटनाले भारतमा सामाजिक सञ्जालमा नियन्त्रण र अभिव्यक्तिको स्वतन्त्रता सम्बन्धी बहस पुनः चर्काएको छ।

प्रकाशित मिति: २६ बैशाख २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com