काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हालैको शारीरिक दुर्घटनासँग सम्बन्धित नयाँ रहस्य बाहिर आएको छ। वैशाख २३ गते बिहान पार्टीको पेरिसडाँडास्थित मुख्यालयमा सम्पन्न एक ‘प्रगतिशील जनवादी विवाह’ कार्यक्रममा सक्रिय सहभागिता जनाएका प्रचण्ड साँझमा भने राजधानी नजिकैको लाकुरीभञ्ज्याङमा रहेको एक पाँचतारे रिसोर्टमा आयोजित गोप्य भोजमा देखिए।
उक्त विवाह समारोह माओवादी नेताका धर्मपुत्रका रूपमा चिनिने आइटी सल्लाहकार प्रकाश रायमाझीको थियो। बिहान सादा र क्रान्तिकारी शैलीमा गरिएको विवाहलाई ‘जनताको विवाह’ भनेर प्रचार गरिए पनि साँझमा त्यही विवाहको उत्सव बिलासी भोजमा परिणत भएको पुष्टि स्रोतहरूले गरेका छन्।
टेरेस रिसोर्टमा आयोजित सो भोजमा केही उच्चपदस्थ नेता र प्रभावशाली व्यक्तिहरूको गोप्य सहभागिता रहेको बताइएको छ। सहभागीहरूलाई फोटो वा जानकारी सार्वजनिक नगर्न विशेष निर्देशनसमेत दिइएको थियो।
भोजकै रात प्रचण्ड लडेपछि उनलाई मेडिसिटी अस्पतालमा भर्ना गर्नुपरेको थियो। पार्टीले उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको भए पनि जनस्तरमा भने प्रश्नहरू असामान्य छन्। उक्त घटनालाई लिएर विभिन्न टिकाटिप्पणी र आशंका सतहमा आइरहेका छन्।
पार्टीभित्रैबाट केही असन्तुष्ट स्वरहरूले उक्त रात प्रचण्ड मदिराको अत्यधिक सेवनका कारण लडेको दाबी गरेका छन्। सामाजिक सञ्जालमा समेत यो विषयले व्यापक चर्चा पाएको छ। जनवादको आवरणमा सम्पन्न गरिएको विवाह, र त्यसपछि भएको महँगो भोजले माओवादी नेतृत्वमाथि नै प्रश्न उठाएका छन्।
प्रकाशित मिति: २६ बैशाख २०८२, शुक्रबार













प्रतिक्रिया