काठमाडौं । रोबर्ट प्रेभोस्ट क्याथोलिक चर्चका २६७औं सर्वोच्च धर्मगुरु अर्थात् पोप चुनिएका छन्। अब उनी ‘पोप लिओ चौधौँ’को नामले चिनिने छन्। यो पदमा पुग्ने उनी पहिलो अमेरिकी नागरिक भएका छन्, यद्यपि उनलाई मुख्यतया ल्याटिन अमेरिकी कार्डिनलको रूपमा पनि चिनिन्छ।
पोप बन्नुअघि उनले लामो समय इसाई धर्मको सेवा गर्दै पेरूको शिक्लायो क्षेत्रमा बिशपका रूपमा बिताएका थिए। यही पृष्ठभूमिका कारण उनले पेरूमा गहिरो सम्मान र नागरिकता समेत प्राप्त गरेका थिए।
पूर्व पोप फ्रान्सिसको निधनपछि भ्याटिकन सिटीस्थित सेन्ट पिटर्स बेसिलिकाको ऐतिहासिक बाल्कोनीबाट आफ्नो पहिलो सार्वजनिक सम्बोधनमा पोप लिओले शान्तिको सन्देश दिए। हजारौं श्रद्धालुहरूले ताली र उत्साहका साथ उनको स्वागत गरे।
सम्बोधनमा पोप लिओले भने, “समग्र विश्वमा जहाँ जस्ता मानिस भए पनि सबैमा शान्ति कायम रहोस्।” उनले थपे, “हामीले वार्ता र सहकार्यका पुलहरू निर्माण गर्दै एकता र मेलमिलापका बाटोहरू पहिल्याउनु आवश्यक छ।”
फ्रान्सिसप्रति श्रद्धाञ्जली अर्पण गर्दै पोप लिओले भने, “उमेरको कारणले कमजोर भएका पोप फ्रान्सिसको आवाज, विशेष गरी इस्टर सन्डेको प्रार्थनामा उच्चारित आशीर्वाद, आज पनि हाम्रो कानमा गुञ्जिरहेको महसुस हुन्छ।”
नयाँ पोपले चर्चलाई संवादमुखी र समर्पित संस्था बनाउने प्रतिबद्धता व्यक्त गर्दै भने, “हामीले आत्मादेखि आत्मासम्म पुग्ने पुल निर्माण गर्नु आवश्यक छ, जसले समग्र मानवताको शान्तिका लागि योगदान पुर्याओस्।”
उनको निर्वाचनको खबरले विशेष गरी पेरूमा अत्यधिक उत्साह जगाएको छ। अमेरिका, ल्याटिन अमेरिका र विश्वभरका विश्वासीलगायत नेताहरूले नयाँ पोपको स्वागत गरेका छन्।
पोप लिओले विश्वमा बढ्दो द्वन्द्व, विभाजन र नैतिक चुनौतीहरूका बीच चर्चको भूमिका थप सशक्त बनाउने जिम्मेवारी पाएका छन्। यौन दुर्व्यवहार काण्ड, धार्मिक मतभेद तथा गरिबी–विपन्नता जस्ता विषयमा सक्रिय रहँदै आएका उनले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी विरोधी नीतिको समेत विरोध गरेका थिए।
न्युयोर्कस्थित सेन्ट प्याट्रिक्स क्याथेड्रलबाहिर ६६ वर्षीया रोजारिया भिगोरिटोले भनिन्, “म केही मिनेटभित्रै उत्साहले भरिएको महसुस गरिरहेकी छु। लिओ चौधौँ विश्वलाई सुधारक पोपका रूपमा चिनिनेछन्।”
विश्व समुदायले नयाँ पोपप्रति आशा र भरोसा व्यक्त गर्दै, जटिल भूराजनीतिक समयको बीचमा मानवता र नैतिक मूल्यको मार्गनिर्देशन गर्ने नेताको रूपमा स्वागत गरेका छन्।
प्रकाशित मिति: २६ बैशाख २०८२, शुक्रबार













प्रतिक्रिया