काठमाडौँ । सभामुख देवराज घिमिरेले संविधान निर्माणदेखि राष्ट्र निर्माणसम्मको यात्रामा पूर्व सांसदहरूले पुर्याएको योगदान अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्। पूर्व सांसद मञ्च नेपालले आयोजना गरेको ‘नेपालको वर्तमान अवस्था : चुनौती र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले देशमा थुप्रै सकारात्मक उपलब्धिहरू भए पनि तिनको उचित मूल्यांकन नभएकोप्रति गुनासो व्यक्त गरे।
उनले वर्तमान समयमा शासन प्रणालीप्रति उठेका प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता औँल्याउँदै भने, “व्यवस्था परिवर्तन त भयो, तर अवस्था परिवर्तन हुन सकेन। अब जनताको सोचमा परिवर्तन आउन आवश्यक छ।”
सभामुख घिमिरेले २०४६ सालपछि देशले चारगुणा भन्दा बढी प्रगति गरेको दाबी गर्दै उक्त परिवर्तनमा व्यवस्थाको भूमिका र पूर्व सांसदहरूको योगदान उल्लेखनीय रहेको बताए।
कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले गणतन्त्र स्थापनासँगै नेपालमा जनताप्रति उत्तरदायित्वबोधसहितको शासन प्रणाली विकास भएको बताए। उनले भने, “राजतन्त्रको विकल्प लोकतन्त्र हो, तर लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन।”
मन्त्री चौरसियाले १० वर्षे जनयुद्ध, मधेस आन्दोलन, नाकाबन्दी, भूकम्प र कोभिडजस्ता संकटपूर्ण परिस्थितिहरूका बीच पनि सरकारले विकास निर्माणलाई निरन्तरता दिएको उल्लेख गरे। यद्यपि, स्थानीय तह र प्रदेशमा अनावश्यक खर्च बढ्नुका कारण जनतामा बढ्दो असन्तुष्टिप्रति चिन्ता व्यक्त गर्दै उनले सरकार जनअपेक्षाअनुसार जिम्मेवार हुनुपर्नेमा जोड दिए।
पूर्व सभामुख तारानाथ रानाभाटले निर्वाचित जनप्रतिनिधिहरूले जनताका पक्षमा अपेक्षित रूपमा काम नगरेको गुनासो गरे। “भाषण गर्नु सजिलो छ, तर व्यवहारमा नतिजा देखिएको छैन,” भन्दै उनले दलगत सीमाभन्दा माथि उठी राष्ट्र हितमा कार्य गर्न सबै नेताहरूप्रति आग्रह गरे।
उनले स्रोतसाधन गाउँगाउँसम्म पुगेको भए पनि कार्यान्वयनको पक्ष कमजोर रहेको उल्लेख गर्दै पूर्व सांसदहरूलाई राष्ट्रका लागि अनुभवी जनशक्तिको रूपमा प्रयोग गर्नुपर्ने सुझावसमेत दिए।
कार्यक्रममा अर्थविद् चिरञ्जीवी नेपाल, शिक्षा विज्ञ डा. विद्यानाथ कोइराला, कानुनविद् टिकाराम भट्टराई, पूर्णमान शाक्य, प्रा. मञ्चला झा र विष्णुबहादुर राउतले आ–आफ्ना धारणा र कार्यपत्र प्रस्तुत गरेका थिए।
प्रकाशित मिति: २७ बैशाख २०८२, शनिबार













प्रतिक्रिया