काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आतङ्कवाद, अराजकता र निरङ्कुशतालाई लोकतन्त्र तथा प्रेस स्वतन्त्रताको मुख्य शत्रु रहेको बताएका छन्। नेपाल प्रेस युनियन केन्द्रीय समितिको आयोजनामा ललितपुरमा आयोजित लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिटमा बोल्दै उनले प्रेस स्वतन्त्रता र लोकतन्त्रलाई मजबुत बनाउने दिशामा कार्यशैलीमा सुधार आवश्यक रहेको धारणा राखे।

कार्यक्रमको उद्घाटन उपराष्ट्रपति रामसहाय यादवले गरेका थिए। समिटमा मन्त्री गुरुङले लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु परिवर्तनजस्ता विषय अत्यन्त संवेदनशील र सान्दर्भिक रहेको उल्लेख गरे। उनले भने, “लोकतान्त्रिक शासन प्रणालीमा जनताको अभिमत बलियो हुनुपर्छ। लोकतन्त्र कमजोर हुँदा प्रेस स्वतन्त्रता पनि धरापमा पर्छ।”

advertisement

उनले प्रेस स्वतन्त्रता र लोकतन्त्र एक आपसमा गहिरो सम्बन्धमा रहेको उल्लेख गर्दै समाजलाई कसरी सकारात्मक दिशामा डो-याउन सकिन्छ भन्नेबारे सञ्चारकर्मीहरूले ध्यान दिनुपर्नेमा जोड दिए।

अनलाइन माध्यमबाट फैलिने गलत सूचनाका कारण उत्पन्न चुनौतीको चर्चा गर्दै मन्त्री गुरुङले धार्मिक सहिष्णुता र सांस्कृतिक विविधतामा आघात पुर्‍याउने कार्यहरू लोकतन्त्रका लागि घातक रहेको बताए। “समाजमा गलत सूचना फैलाएर लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिविरुद्ध सञ्चार क्षेत्र एकजुट हुन आवश्यक छ,” उनले स्पष्ट पारे।

जलवायु परिवर्तनका असरबारे मन्त्री गुरुङले लोमान्थाङजस्ता क्षेत्रहरू प्रत्यक्ष रूपमा प्रभावित हुने भएकाले समिट अझ महत्त्वपूर्ण भएको बताए। उनले विकास निर्माणका कार्यहरू जनताको आवश्यकतालाई केन्द्रमा राखी कुनै पार्टी वा नेताको स्वार्थमा नपरी अगाडि बढाउनुपर्ने धारणा राखे। “यसले मात्र लोकतन्त्रलाई बलियो बनाउँछ,” मन्त्री गुरुङले भने।

मिडिया काउन्सिल विधेयकको सन्दर्भमा उनले अनलाइन मिडियालाई पनि स्वनियमनको दायरामा ल्याउने तयारी भइरहेको जानकारी दिए। “अनलाइन माध्यम पनि प्रेसकै हिस्सा हो,” भन्दै उनले सामाजिक सञ्जालमार्फत फैलिने ठगी र गलत सूचना नियन्त्रण गर्न सशक्त प्रणालीको आवश्यकता औँल्याए।

गत महिना २० करोड रुपैयाँभन्दा बढी ठगी भएको उदाहरण प्रस्तुत गर्दै उनले अनलाइन नियमन अत्यावश्यक रहेको बताए।

यसरी, लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु परिवर्तनका विषयमा गम्भीर छलफल गरिएको यो समिट नेपाली सञ्चार क्षेत्रको दिगो विकास र सुदृढ लोकतन्त्रतर्फको कदमको रूपमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: २७ बैशाख २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com