काठमाडौं । भारतले पाकिस्तानमा गरेको सैन्य कारबाहीमा पाँच जना वरिष्ठ आतंककारी मारिएको दाबी गरेको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार, मारिएका आतंककारीहरू विभिन्न आतंककारी संगठनका उच्चस्तरीय नेताहरू थिए।
भारतीय पत्रिका हिन्दुस्तान टाइम्स का अनुसार, मारिएका आतंककारीमध्ये प्रमुख अबु जुन्दाल उर्फ मुदस्सर खैदान थिए, जो लश्कर-ए-तैयबा संगठनको मुरिदकेस्थित ‘मरकज तैयबा’ का प्रमुख रहेका थिए। उनको अन्त्येष्टिमा पाकिस्तानी सेनाका अधिकारीहरू पनि सहभागी भएको समाचारमा जनाइएको छ।
यस्तै, जैश-ए-मोहम्मदसँग आबद्ध हफिज मुहम्मद जमिल पनि भारतीय कारबाहीमा मारिएको जनाइएको छ। उनी भावलपुरस्थित ‘मरकज सुबहान अल्लाह’ का प्रमुख थिए र जैश-ए-मोहम्मदका संस्थापक मौलाना मसुद अजहरका जेठान थिए।
कारबाहीमा मारिएका अर्का आतंककारी मोहम्मद युसुफ अजहर उर्फ ‘उस्ताद जी’ थिए, जो मसुद अजहरका साला थिए। उनी पनि जैश-ए-मोहम्मदसँग आबद्ध थिए र सन् १९९९ को डिसेम्बरमा काठमाडौँबाट दिल्ली जाँदै गरेको इन्डियन एयरलाइन्सको अपहरण घटनामा संलग्न व्यक्तिका रूपमा खोजी सूचीमा थिए। उनले संगठनमा हतियार तालिम दिने जिम्मेवारी समेत पाएका थिए।
त्यसैगरी, लश्कर-ए-तैयबा संगठनमा आबद्ध अबु अक्शा उर्फ खालिद पनि मारिएको जनाइएको छ। उनी अफगानिस्तानतर्फ हतियार तस्करीमा संलग्न थिए। फैसलाबादमा आयोजित उनको अन्त्येष्टिमा पाकिस्तानी सेनाका अधिकारी र शहरका उप-आयुक्त समेत सहभागी रहेको उल्लेख गरिएको छ।
अन्त्यमा, जैश-ए-मोहम्मदका अर्का सदस्य मोहम्मद हसन खान पनि कारबाहीमा मारिएको जनाइएको छ। उनी पाकिस्तान अधीनस्थ कश्मीरमा संगठनका कमाण्डर मुफ्ती अश्गर खान कश्मीरीका छोरा थिए र जम्मु-कश्मीरमा आतंकवादी गतिविधिमा सक्रिय थिए।
भारतले गरेको यस कारबाहीलाई आतंकवादविरुद्धको ठूलो सफलता रूपमा हेरिएको छ भने पाकिस्तान सरकारको मौनताले अनेक प्रश्न उठाइरहेको छ।
प्रकाशित मिति: २७ बैशाख २०८२, शनिबार













प्रतिक्रिया