काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाभित्र रहेका नदीनालाहरूलाई सफा र स्वच्छ बनाउने कार्यमा सरकार गम्भीर रूपमा संलग्न रहेको बताएका छन्।
शनिबार बानेश्वर हाइट खानेपानी उपभोक्ता समितिद्वारा आयोजित ‘डिप बोरिङ पानी शुद्धीकरण’ उद्घाटन कार्यक्रममा बोल्दै उनले वाग्मती, विष्णुमती, र रुद्रमतीजस्ता प्रमुख नदीमा ढल मिसिन नदिने आफ्नो प्राथमिकता भएको स्पष्ट पारे।
उनका अनुसार, नदीनालामा फोहर र ढल मिसिन नदिने व्यवस्था मिलाउँदै ती जलस्रोतलाई पुनः जीवन्त बनाउन सहरी विकास मन्त्रालयले प्राविधिकसहितको जनशक्ति परिचालन गरिसकेको छ।
सिंहले देशका विभिन्न स्थानमा निर्माणाधीन खानेपानी आयोजनाहरू समयमै सम्पन्न गराउन नागरिक स्तरबाट पनि निगरानी र सहकार्य आवश्यक रहेको उल्लेख गरे।
उनले जलस्रोतको संरक्षण र स्वच्छता सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको र यस अभियानमा सबैको सहभागिता जरुरी रहेको बताए।
प्रकाशित मिति: २७ बैशाख २०८२, शनिबार













प्रतिक्रिया