काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले विदेशमा रहेका नेपाली नागरिकहरूलाई आगामी निर्वाचनमा सक्रिय सहभागी बन्न आह्वान गरेकी छन्। दोलखाको जिरीमा आयोजित संगठन सशक्तिकरण तथा जागरण अभियान कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाउनुपर्ने माग राखिन्।
सांसद गौतमले भनिन्, “सर्वोच्च अदालतले विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदानको व्यवस्था गर्न सरकारलाई स्पष्ट निर्देशन दिइसकेको छ। तर सरकार बेवास्ता गर्दै बसेको छ, जुन अत्यन्तै दुर्भाग्यपूर्ण हो।”
उनले वर्तमान सत्ता गठबन्धनमाथि विदेशमा रहेका मतदाताले रास्वपालाई समर्थन गर्ने डरका कारण उक्त कानुन निर्माणमा अबरोध गरेको आरोप लगाइन्। “उनीहरूलाई थाहा छ — यदि विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिइयो भने त्यो मत रास्वपालाई नै जानेछ। त्यसैले उनीहरूले यो प्रक्रियालाई रोक्न खोजिरहेका छन्,” उनले स्पष्ट पारिन्।
गौतमले विदेशमा रहेका नेपालीहरूलाई आगामी निर्वाचनमा नेपाल फर्किने अभियान चलाउन पनि आग्रह गरिन्। उनले भनिन्, “०८४ को निर्वाचनमा सबैजना जहाँ हुनुहुन्छ, त्यहाँबाट समूह बनाएर नेपाल फर्किनुस्। यो हाम्रो साझा अभियान बन्नुपर्छ।”
उनले प्रतिवद्धता जनाउँदै भनिन्, “हामी संसदमा पुगेर कानुन निर्माणको प्रक्रिया अघि बढाउँछौं। त्यसपछि विदेशमै बसेर पनि मतदान गर्न मिल्ने कानुन बनाउनेछौं। तर त्यसको आधार भनेको आगामी निर्वाचनमा तपाईंहरूको सहभागिता हो।”
भिन्न प्रसंगमा बोल्दै गौतमले पार्टी सभापति रवि लामिछानेलाई सरकारले नियोजित प्रतिशोधका आधारमा थुनामा राखेको आरोप लगाइन्। उनले अघिल्लो समय लामिछानेविरुद्ध प्रमाण भएको दाबी गर्नेहरू अहिले मौन बसेको उल्लेख गर्दै भनिन्, “हिजो प्रमाण छ भन्दै हिँड्नेहरू आज अदालतको प्रक्रिया भनेर पन्छिन थालेका छन्। यदि साँच्चै प्रमाण थियो भने, अहिले पनि देखाउन सकिन्थ्यो नि।”
उनले रास्वपाप्रति शुभेच्छा राख्नेहरूलाई नआत्तिन र अझ सशक्त रूपमा अगाडि बढ्न आग्रह गरिन्। “पार्टी अहिले सुदृढ हुँदैछ, विस्तार भइरहेको छ। नआत्तिनुस्, नडराउनुस्। रास्वपा अब एक सशक्त राजनीतिक शक्तिका रूपमा अगाडि बढ्दैछ। खोला कहिल्यै पछाडि फर्कँदैन, समय पनि त्यस्तै हो।”
गौतमले अन्त्यमा भनिन्, “रास्वपासँग भिजन, ज्ञान, हुटहुटी र इमानदारी छ। यदि हामी सबै मिलेर अघि बढ्यौं भने, देशको मुहार फेर्न सक्छौं। यो पुस्तालाई हाँक्ने शक्ति रास्वपा नै हो।”
प्रकाशित मिति: २७ बैशाख २०८२, शनिबार












प्रतिक्रिया