काठमाडौं । आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने भएका छन्। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।
यसअघि वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
संघीय संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार, आजको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री ओलीको जवाफसहित नीति तथा कार्यक्रममाथि सांसदहरूले दिएका संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिने उल्लेख छ।
नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी ३७ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्। वैशाख २२ गतेदेखि प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो।
त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथि (कर प्रस्तावबाहेक) छलफलका लागि प्रस्ताव पेस गर्नेछन्।
राष्ट्रियसभाको बैठक पनि आज दिउँसो १ः१५ बजे बस्नेछ। राष्ट्रियसभामा पनि प्रतिनिधिसभा जस्तै नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्री ओलीद्वारा जवाफ दिने कार्यसूची तय गरिएको छ। साथै, राष्ट्रियसभामा पनि विनियोजन विधेयक सम्बन्धी छलफलको प्रस्ताव पेस गरिनेछ।
प्रकाशित मिति: २८ बैशाख २०८२, आइतबार












प्रतिक्रिया