काठमाडौं  ।  नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारबारे गरेको टिप्पणीप्रति प्रतिकृया जनाउँदै प्रश्न गरेका छन्, “तपाईं वास्तवमै के बोल्दै हुनुहुन्छ ?”

आइतबार सामाजिक सञ्जालमार्फत पोखरेलले प्रचण्डका अभिव्यक्तिमा तथ्यभन्दा कुण्ठा बढी देखिएको टिप्पणी गरे । उनले प्रचण्डको भनाइ उद्धृत गर्दै लेखे, “यी तथ्यहरूले तपाईंको बोलीमा तथ्य होइन, कुण्ठा मात्र देखिन्छ।”

advertisement

पोखरेलले प्रचण्ड प्रधानमन्त्री रहेका बेला र अहिलेको तुलनामा विभिन्न सूचकमा सकारात्मक प्रगति भएको दाबी गरेका छन्। उनका अनुसार, हाल राजस्वमा उल्लेख्य वृद्धि भएको छ, विदेशी मुद्रा सञ्चिति बढेको छ, र भुक्तानी सन्तुलनमा उल्लेख्य बचत कायम भएको छ।

उनले थप उदाहरण दिँदै भने, “तपाईंको नेतृत्वमा सरकारले निर्माण व्यवसायीलाई भुक्तानी दिन नसकेको रकम अहिलेको सरकारले भुक्तानी दिएको छ। पोखरा–मुग्लिन सडक, गैडाकोट–बुटवल सडकजस्ता रोकिएको ठूला आयोजनाहरूमा तीव्र गतिमा काम अघि बढिरहेको छ।”

महासचिव पोखरेलका अनुसार, भूकम्प तथा बाढीपीडितका आवास निर्माणका लागि स्रोतको व्यवस्था भएको छ, बैंकको तरलता वृद्धि भएको छ, व्याजदर घटेको छ र समग्र लगानी प्रवाह बढ्न थालेको छ।

उनले कानूनी सुधारमार्फत लगानीमैत्री वातावरण निर्माण भएको र कार्यान्वयन निकायहरूले बिना हस्तक्षेप स्वतन्त्र रूपमा काम गर्न पाएको उल्लेख गरे।

त्यसैगरी, भूमिसम्बन्धी समस्याको समाधान प्रक्रिया अघि बढेको र सरकारको स्थायित्वको आधार तयार भइरहेको समेत बताए।

अन्त्यमा पोखरेलले प्रचण्डप्रति व्यङ्ग्य गर्दै भने, “उपरोक्त तथ्यहरूले नै तपाईंको पीडा र छटपटी बढेको देखिन्छ, होइन र?”

प्रकाशित मिति: २८ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com