काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाही ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको हक, हित र सुरक्षाका लागि कुनै प्रभावकारी काम गर्न नसकेको भन्दै कडा आलोचना गरेका छन्।
आइतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले श्रम मन्त्रालयको औचित्यमै प्रश्न उठाउँदै विदेशमा पसिना बगाइरहेका नेपाली श्रमिकहरूको योगदानप्रति सरकार बेखबर रहेको बताए। “देशको अर्थतन्त्र आज पनि वैदेशिक रोजगारीबाट पठाइएको रेमिट्यान्सले चलिरहेको छ, तर सरकारले तिनै श्रमिकप्रति सम्मान देखाउन सकेको छैन,” उनले भने।
उनले प्रधानमन्त्री, मन्त्री र सांसदहरूको तलबभत्ता समेत रेमिट्यान्सले धानेको भन्दै “हामीले नुनको सोझो गर्नुपर्दैन?” भन्ने प्रश्न उठाए। वैदेशिक रोजगारीको नाममा हजारौं नेपाली दलालमार्फत ठगिँदै आएका तर राज्य बेखबर रहेको उनको आरोप छ।
शाहीले वैदेशिक रोजगारमा गएका नागरिक अलपत्र पर्दा पनि परराष्ट्र मन्त्रालयले समयमै कूटनीतिक पहल नगरेको भन्दै असन्तुष्टि जनाए। “१४ खर्बभन्दा बढीको रेमिट्यान्स विदेशबाट आएको छ। त्यो रकमले सरकारका हरेक अंग चलेको छ। तर, दलालको फन्दामा परेर दुःख भोगिरहेका नेपालीहरूको पक्षमा सरकार किन मौन छ?” उनले सभामुख समक्ष प्रश्न गरे।
उनले थपे, “श्रम मन्त्रालय जनताका लागि हो कि मन्त्रीका लागि मात्रै? यदि मन्त्रालय जनताको हितमा काम गर्न सक्दैन भने त्यसको औचित्य नै छैन। नेपालीहरू आज पनि विदेशमा अलपत्र छन्, तर परराष्ट्र मन्त्रालयले कुनै कूटनीतिक प्रयास गरेको देखिँदैन। अब यस्तो अवस्थाको अन्त्य हुनुपर्छ।”
शाहीले सरकारलाई जनताको समस्याप्रति संवेदनशील हुन आग्रह गर्दै वैदेशिक रोजगारमा रहेका नेपालीहरूको सुरक्षाका लागि प्रभावकारी र दृढ कदम चाल्न माग गरे।
प्रकाशित मिति: २८ बैशाख २०८२, आइतबार












प्रतिक्रिया