काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास प्रक्रिया अब ढिलो–सुस्तरी र अलमलमा पर्ने पुरानो शैलीबाट बाहिरिँदै स्पष्ट दिशा, गति र परिणाममा केन्द्रित हुने बताए छन्। प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले “जहिल्यै काम भइरहेको देखिने तर कहिल्यै नसकिने” प्रवृत्तिलाई अन्त्य गर्ने दृढता व्यक्त गरे।

उनले विगतका सरकारद्वारा घोषणा गरिएका पूर्वाधार परियोजनाहरूको पुनः मूल्यांकन गरी काम सकिने योजनालाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै अब ‘थाल्ने’भन्दा ‘सक्ने’मा जोड दिइएको बताए। सीमित स्रोत साधनलाई अधिकतम उपयोग गर्दै प्रभावकारी योजना र कार्यान्वयन आवश्यक रहेको धारणा प्रधानमन्त्रीले व्यक्त गरे।

advertisement

प्रधानमन्त्री ओलीले भने, “जे जस्तो छ त्यहीमा रमाउने होइन, उपयोगी योजनालाई निरन्तरता दिँदै असान्दर्भिक योजनालाई त्याग्ने नीति हामीले अवलम्बन गरेका छौं।” उनका अनुसार अबका सबै नयाँ परियोजना स्पष्ट बिजनेस प्लान, सम्भाव्यता अध्ययन, जोखिम मूल्यांकन, नगद प्रवाहको विश्लेषण र कानुनी सुरक्षा सुनिश्चित गरेर मात्र अघि बढाइने छन्।

उनले चालु तथा प्रस्तावित पूर्वाधार परियोजनाहरूको समयमै सम्पन्न गर्न आवश्यक स्रोतको यथोचित व्यवस्थापन गरिने र असम्भव तथा त्रुटिपूर्ण योजनाहरू स्थगन वा खारेज गरिने जानकारी पनि दिए। “राष्ट्रिय गौरवका आयोजनाहरूको पुनरावलोकन गरी आर्थिक वर्ष २०८२/८३ भित्र सम्पन्न गर्ने लक्ष्यसहित स्पष्ट कार्यतालिका बनाइएको छ,” प्रधानमन्त्रीले भने।

कृषिक्षेत्रको सन्दर्भमा प्रधानमन्त्रीले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम’लाई पुनःसंरचना गर्दै व्यवसायिक कृषि प्रणालीलाई टेवा दिने नयाँ नीति अघि सारेको जानकारी दिए। सो नीति अन्तर्गत भूमि बैंक, वित्त, उपकरण, बीमा, समर्थन मूल्य, अग्रिम खरीद सम्झौता, भण्डारण र बजार व्यवस्थापनको पूर्ण चक्र निर्माण गरिनेछ।

स्टार्टअप र उद्यमशीलता प्रवर्द्धनमा पनि ध्यान दिइएको उल्लेख गर्दै उनले ‘बजारसम्मको पहुँच’ सुनिश्चित गर्ने नीति अबको विकास रणनीतिको हिस्सा हुने बताए। साथै मल, विद्युत् र पूँजीगत अनुदानहरूको व्यवस्थापनलाई पारदर्शी र परिणाममुखी बनाउने प्रतिवद्धता प्रधानमन्त्रीले दोहोर्याए।

प्रधानमन्त्री ओलीले भने, “अबको विकास सोच–समझ, योजना, कार्यान्वयन र परिणाममा आधारित हुनेछ। ढिलासुस्ती, अपव्यवस्थापन र दिखावटी योजनाको युग समाप्त भएको घोषणा गर्दछु।”

प्रकाशित मिति: २८ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com