काठमाडौं । संविधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य पुनःस्थापनासहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापना अभियान सञ्चालन गर्दै आएको ‘संयुक्त जनआन्दोलन समिति’ले आगामी जेठ १५ गतेदेखि राजधानी केन्द्रित आन्दोलनको सुरुवात गर्ने तयारी गरेको छ। समितिले आन्दोलनमा देशभरिबाट व्यापक सहभागिता सुनिश्चित गर्न उपत्यकाबाहिरका नागरिकहरूलाई काठमाडौँ आउन आग्रह गरेको छ।
आइतबार समिति संयोजक नवराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले राजधानी केन्द्रित आन्दोलनलाई प्रभावकारी बनाउन उपत्यकाका साथै बाहिरबाट समेत सर्वसाधारणलाई सहभागी गराउने निर्णय गरेको हो। संयोजक सुवेदीद्वारा जारी विज्ञप्तिमा काठमाडौँ उपत्यकाका नागरिकहरूलगायत सबै वर्ग, पेसा र समुदायका व्यक्तिहरूलाई सक्रिय सहभागिताका लागि विशेष अनुरोध गरिएको छ।
साथै, आन्दोलनको सफलताका लागि आम नेपालीहरूलाई आर्थिक सहयोग (चन्दा) गर्न समेत आह्वान गरिएको छ। सुवेदीका अनुसार, आन्दोलन घोषणा सभापछि पहिलो पटक सबै राष्ट्रवादी शक्ति एकजुट भएको सन्देश प्रवाह भएको छ। उनले भने, “राजसंस्था र हिन्दु अधिराज्य पुनःस्थापनाको वातावरण अब अनुकूल बनेको छ, सबैले मिलेर यो आन्दोलन सफल बनाउनु आवश्यक छ।”
बैठकले आन्दोलनमा संलग्न दल, संघसंस्था र अभियानहरूको काठमाडौँ उपत्यका केन्द्रित नेतृत्व तहको बैठक वैशाख २८ गते राप्रपा केन्द्रीय कार्यालयमा राख्ने निर्णय गरेको छ। त्यस्तै, संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यमा विश्वास राख्ने विद्वान, बौद्धिक तथा विज्ञहरूको भेला जेठ ६ गते आयोजना गरिने छ।
आन्दोलनलाई थप व्यापक बनाउन उपत्यकाभित्र जनजागरण यात्रा सञ्चालन गरिनेछ, जसअन्तर्गत जेठ ८ देखि ११ सम्म काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा कोणसभा तथा जनसम्पर्क कार्यक्रम गरिनेछ। यात्राको सुरुवात साँखुबाट हुनेछ भने समापन चाँगुनारायणमा हुने तय गरिएको छ।
त्यस्तै, जेठ १३ गते राजधानीमा वृहत् युवा स्वयंसेवक भेला गर्ने र काठमाडौँ बाहिरका जिल्लाबाट जनताको उल्लेख्य सहभागिता जुटाउन आवश्यक तयारी गरिने निर्णय गरिएको छ। सुवेदीले जेठ १५ देखि सुरु हुने आन्दोलन शान्तिपूर्ण हुने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रिय मानव अधिकार आयोग र अन्य मानव अधिकार संस्था तथा संघसंस्थाहरूलाई अनुगमनका लागि अनुरोध गर्ने निर्णय भएको जानकारी दिए।
बैठकले तीनकुने घटनामा पक्राउ परेकाहरूको तत्काल रिहाइको मागसमेत गर्दै सरकारसमक्ष उक्त विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ।
प्रकाशित मिति: २८ बैशाख २०८२, आइतबार












प्रतिक्रिया