काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनको जिम्मेवारी अहिलेसम्म कसैले नलिएर त्यस घटनाको अनुसन्धानमा समस्या उत्पन्न भएको भन्दै व्यंग्य गरेका छन्।
प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै प्रधानमन्त्री ओलीले सो आन्दोलनका सम्बन्धमा कोही पनि अगाडि नआएको भन्दै आलोचना गरे। उनले राजतन्त्र पुनःस्थापनाको पक्षमा उभिएका विभिन्न समूहहरूले आन्दोलनलाई समर्थन गरे पनि त्यसको आयोजनाकर्ता को हो भन्ने प्रस्ट नभएको बताए।
प्रधानमन्त्री ओलीले आन्दोलनमा हिंसा र तोडफोड भएको स्मरण गराउँदै प्रश्न उठाए— “ती घरहरू आफैं दशा लागेर जलेका हुन्? जडिबुटी कारखानाले आफूलाई नै जलाएको हो?” उनले थपे, “कोही पनि त्यो घटनाको जिम्मा लिन तयार छैन। तपाईँ हो भन्दा ‘म होइन’ भन्छ, अर्को हो भन्दा फेरि ‘म होइन’ भन्छ। बेवारिस सन्तानजस्तै भएको छ त्यो आन्दोलन।”
राजतन्त्रको विचारप्रति कटाक्ष गर्दै प्रधानमन्त्री ओलीले भने, “विचार व्यक्त गर्ने अधिकार सबैलाई छ—even थोत्रो विचार पनि व्यक्त गर्न पाइन्छ। तर ती विचारमा नेपाली जनताको समर्थन छैन। इतिहासले त्यसलाई फालिसकेको छ।”
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनप्रति पनि प्रधानमन्त्री ओलीले आक्रोश व्यक्त गरे। लिङ्देनले सरकारलाई राजतन्त्र पुनःस्थापनाबारे सम्झौता गर्न सुझाव दिएको सन्दर्भमा ओलीले भने, “एउटा पार्टी अध्यक्षले भनेको सुनेँ—राजासँग सम्झौता गर, नभए भाग्न तयार होऊ। कहाँ भाग्ने? सडेको, ढलेको, मक्किएको संस्थाको नाममा जनतालाई धम्की दिने? नेपाली जनता भाग्दैन। भाग्ने ठाउँ पनि छैन।”
अन्त्यमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार नयाँ सोच र ढंगले काम गरिरहेको दाबी गर्दै सबैलाई संयमित र जिम्मेवार ढंगले राजनीति गर्न आग्रह गरे।
प्रकाशित मिति: २८ बैशाख २०८२, आइतबार












प्रतिक्रिया