काठमाडौं ।  चिनियाँ लडाकु विमान जे–१० ले पश्चिमी मूलको भारतीय राफेल विमानलाई हवाई मुठभेडमा पराजित गरेपछि अन्तर्राष्ट्रिय रक्षा क्षेत्रमा गहिरो चासो र बहस सुरु भएको छ। अमेरिकास्थित वाशिङ्गटन एक्जामिनर म्यागाजिनको हवाला दिँदै सञ्चालित विभिन्न अन्तर्राष्ट्रिय समाचार स्रोतहरूले चीनले निर्माण गरेको जे–१० सी विमान पाकिस्तानले प्रयोग गरी भारतको फ्रान्सेली निर्मित राफेल विमान खसालेको उल्लेख गरेका छन्।

यो घटना पछिल्लो समयको सबैभन्दा ठुलो हवाई भिडन्तका रूपमा चित्रण गरिएको छ। भारत र पाकिस्तानबीच बुधबार बिहान भएको यो मुठभेडमा करिब १२५ लडाकु विमानहरू संलग्न रहेको एक वरिष्ठ पाकिस्तानी सुरक्षा स्रोतले सीएनएनलाई बताएका छन्। भिडन्त करिब एक घण्टासम्म चलेको थियो।

advertisement

रोयटर्सका अनुसार पाकिस्तानले चिनियाँ जे–१० विमानमार्फत पीएल–१५ हावा–देखि–हावामा प्रहार गरिने मिसाइल प्रयोग गरेर भारतीय वायुसेनाको राफेल विमान खसालेको हो। राफेल विमान युद्धमा खसिएको यो पहिलोपटक हो भने, जे–१० ले पनि पहिलोपटक शत्रु विमानलाई निशाना बनाएको हो।

यो घटनाले चिनियाँ रक्षा प्रविधिको प्रभावकारिता विश्वभर चर्चाको केन्द्र बनेको छ। जे–१० विमान २००४ देखि सक्रिय भए पनि यसलाई युद्धमा पहिलोपटक प्रयोग गरिएको हो। चीनका लागि यो सफलता ठूलो मनोबलको विषय भएको विश्लेषणहरूमा उल्लेख छ।

राफेल र जे–१० दुबै ४.५ पुस्ताका लडाकु विमान हुन्, जसको श्रेणीमा अमेरिकी एफ–१६ वा एफ/ए–१८ पनि पर्छन्। पाकिस्तानले एक्स (ट्विटर) मा पोस्ट गर्दै भनेको छ, “यो केवल रक्षा होइन, आकाशमा प्रभुत्वको प्रतीक हो। पीएल–१५ मिसाइलको सटिकता मार्फत अपराजित मानिएको राफेल खसालिएको छ। भारतीय वायुसेनाको ऐतिहासिक हार हो।”

घटनाको तत्काल असर सेयर बजारमा समेत देखिएको छ। चिनियाँ जे–१० निर्माता चेंग्दु एयरक्राफ्ट कम्पनीको सेयर मूल्य दुई दिनमै ३६ प्रतिशतले बढेको छ भने फ्रान्सको डसाल्ट एभिएसन कम्पनीको सेयर १.६४–५ प्रतिशतले घटेको छ।

अन्तर्राष्ट्रिय रणनीतिक अध्ययन संस्थान (IISS) का सैन्य एयरोस्पेस विज्ञ डगलस बैरीका अनुसार यो मुठभेडले हवाई युद्धको रणनीति, प्रविधि र हतियारहरूको प्रभावकारिताबारे विश्वभर पुनर्विचार गराउनेछ।

विशेषज्ञहरूका अनुसार दुबै पक्षले अत्याधुनिक मिसाइल प्रयोग गरेका थिए— पाकिस्तानले चिनियाँ पीएल–१५ र भारतले युरोपेली मिटिओर। विश्लेषकहरूका भनाइअनुसार पीएल–१५ ले तीनवटा विमान खसालेको अनुमान गरिएको छ, भने पाकिस्तानका कुनै विमान नखसेको दाबी गरिएको छ।

पाकिस्तानी विदेशमन्त्रीका अनुसार पाकिस्तानका लडाकुहरूले आत्मरक्षा र आवश्यक प्रतिक्रियाका लागि मात्र कारबाही गरेका थिए। उनले भने, “यदि आदेश फरक हुन्थ्यो भने १०–१२ भारतीय विमान खसाल्न सकिन्थ्यो।”

यो मुठभेड, भारत र पाकिस्तानले आफ्नो वायुसेना आधुनिकीकरण गरेपछि पहिलोपटक भएको हो। सन् २०१९ मा भएको पछिल्लो भिडन्त तुलनात्मक रूपमा पुराना विमानहरू जस्तै एफ–१६, जेएफ–१७, मिराज–२००० र एमआईजी–२१ बीच भएको थियो।

यस पटक पाकिस्तानका एफ–१६ विमानहरू पनि आधुनिक भए तापनि भिडन्तमा सहभागी थिएनन्। जे–१० को सफल प्रदर्शनले चीनको हतियार उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा सशक्त बनाउने संकेत देखिएको छ।

युरेसियन टाइम्सका अनुसार उज्बेकिस्तान अहिले जे–१० र राफेलबीच छनोटको चरणमा छ भने इजिप्टले पनि चिनियाँ जे–१० खरिदमा चासो देखाएको छ।

चिनियाँ सामाजिक सञ्जालहरूमा भारतीय पक्षको पराजयप्रति व्यङ्ग्यात्मक प्रतिक्रिया आएका छन्। यस्ता भिडन्तहरूलाई धेरैले “प्राविधिक प्रतिस्पर्धाको युद्धभूमि” मान्छन्। शीतयुद्धकालीन इजरायल–अरब युद्ध जस्तै अहिले भारत–पाकिस्तान मुठभेडलाई पनि चीन र पश्चिमी मुलुकबीचको हतियार परीक्षणको रूपमा हेरिएको छ।

प्रकाशित मिति: २८ बैशाख २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com