काठमाडौं  ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधतायुक्त नेपाली समाजमा राष्ट्र निर्माण र राष्ट्रिय एकताको लागि सांस्कृतिक विविधता सहितको पहिचानको सम्मान र संरक्षण अनिवार्य रहेको बताएका छन्।

गौतम बुद्धको २५६९औं जन्मजयन्तीको अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालले विगतमा हासिल भएका उपलब्धिको रक्षा गर्दै सामाजिक न्याय र थप अधिकार प्राप्तिका लागि अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। “इतिहासको रथलाई पश्चगमनतर्फ होइन, उपलब्धिहरूको संरक्षण गर्दै अग्रगमनतर्फ अघि बढाउनु आजको आवश्यकता हो,” उनको भनाइ थियो।

advertisement

बुद्ध जयन्तीलाई उनले केवल धार्मिक वा सांस्कृतिक पर्वको रूपमा नभई यथास्थितिविरुद्धको विद्रोह, सामाजिक रूपान्तरण र शान्तिपूर्ण क्रान्तिको प्रेरणाको स्रोतका रूपमा चित्रित गरे। “शान्तिका अग्रदूत, राष्ट्रिय विभूति तथा बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी र बौद्ध धर्मावलम्बीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु,” अध्यक्ष दाहालले सन्देशमा भनेका छन्।

उनले करुणा, अहिंसा र मध्यम मार्गका सिद्धान्तमार्फत बुद्धले तत्कालीन समाजमा रहेको अन्याय, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासविरुद्ध शान्तिपूर्ण विचार क्रान्तिको शुरुवात गरेको स्मरण गराए। “बुद्धले व्यवहारमै दिएको शिक्षा आज पनि हामीलाई न्याय, समानता र समावेशीतामा आधारित समुन्नत समाज निर्माणतर्फ प्रेरित गरिरहेको छ,” उनले भने, “क्रान्ति र शान्ति परस्पर विरोधी होइनन्, यी समाज रूपान्तरणका पूरक तत्व हुन्। बुद्धको दर्शनले यही गहिरो सन्देश दिएको छ ।”

प्रकाशित मिति: २९ बैशाख २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com