काठमाडौं । सुर्खेतमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्णाली क्षेत्रको भाषा र संस्कृतिको प्रवर्द्धनमा सुरु गरिएको नयाँ प्रसारण सेवाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।
सोमबार नेपाल टेलिभिजनको प्रदेश ब्युरो कार्यालय तथा खस भाषामा प्रसारित हुने समाचार बुलेटिनको उद्घाटन गर्दै मन्त्री गुरुङले जनतासम्म सूचना पुर्याउनु सार्वजनिक सेवा प्रसारणको मूल उद्देश्य भएको उल्लेख गरेका छन ।
मन्त्री गुरुङले भने, “रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एउटै संरचनामार्फत एकीकृत प्रसारण सेवा दिने सरकारी नीतिअनुसार कर्णालीमा यो सेवा सुरु गरिएको हो । कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका भूगोल, भाषा र संस्कृतिलाई प्राथमिकतामा राखेर कार्यान्वयन अघि बढाइएको छ।”
विविध भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनले राष्ट्रिय एकता र सहिष्णुतालाई बलियो बनाउने धारणा व्यक्त गर्दै उनले आगामी बजेटमा कर्णाली प्रदेशलाई समपूरक तथा विशेष अनुदान वृद्धि गरिने जानकारी पनि दिए।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले खस भाषामा समाचार प्रसारणका लागि प्रदेश सरकारले छ महिनाअघि नै नीतिगत निर्णय गरी संघीय सरकारसमक्ष प्रस्ताव पेश गरिसकेको स्मरण गराए।
उनले भने, “थप जनशक्ति बिना नै हालको संरचनाबाट सातै प्रदेशमा सेवा विस्तार गर्न सकिने हो भने संघीयताको सार्थक कार्यान्वयन हुनेछ।”
मुख्यमन्त्री कँडेलले भाषिक विविधता उजागर गर्न थालिएको यस सेवाप्रति पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिने प्रतिबद्धता व्यक्त गरे। साथै, सञ्चारमाध्यमले सरकारका सकारात्मक प्रयासहरू नागरिकमा पुर्याउने र निराशा हटाउने दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए।
“सेवा प्रदायकले व्यावसायिक मोडेलमार्फत जनताको आवाज मुखरित गर्ने दिशामा अग्रसर हुन सकेमा मात्र सार्वजनिक प्रसारणप्रति जनताको विश्वास मजबुत हुन्छ,” मन्त्री गुरुङले बताएका हुन ।
मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशको दूरसञ्चार सेवा अझ प्रभावकारी र गुणस्तरीय बनाउन नेपाल टेलिकमको ध्यानाकर्षण समेत गराए।
प्रकाशित मिति: २९ बैशाख २०८२, सोमबार












प्रतिक्रिया