काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानबीच चर्किंदै गएको तनाव आफूहरूको संयमताको आग्रहपछि मात्रै रोकिएको दाबी गरेका छन्।
सोमबार लुम्बिनीमा आयोजित २५६९औं बुद्ध जयन्ती मूल समारोहमा सम्बोधन गर्दै उनले उक्त टिप्पणी गरेका हुन्। सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले गौतम बुद्धको शिक्षाले विश्वभरि नै सन्देश दिने बताएका थिए।
“बुद्धका उपदेश सधैं सान्दर्भिक छन्,” प्रधानमन्त्री ओलीले भने, “भारत र पाकिस्तानबीच झण्डै झगडाको अवस्था आएको थियो। तर हामीले संयम अपनाउन आग्रह गर्यौँ, त्यसपछि त्यो स्थिति टर्यो।”
उनले शान्ति, करुणा, मानवता र अहिंसाको सन्देश विश्वभर फैलाउनु अहिलेको युगको आवश्यकता भएको पनि बताए। “विश्व मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धका उपदेशहरूलाई आत्मसात् गर्न जरुरी छ,” प्रधानमन्त्री ओलीले जोड दिए।
उनका अनुसार बुद्धको दर्शन केवल धार्मिक आस्था मात्र नभई सम्पूर्ण मानव जातिका लागि शान्ति र सहअस्तित्वको आधार हो।
प्रकाशित मिति: २९ बैशाख २०८२, सोमबार












प्रतिक्रिया