काठमाडौं ।  तीनकुने घटनाका क्रममा पक्राउ परेका व्यक्तिहरूको सम्पूर्ण जिम्मेवारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लिने घोषणा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका छन्। नाजायज रूपमा हिरासतमा राखिएका राष्ट्रवादी र देशभक्त व्यक्तिहरूको कानुनी प्रक्रिया तथा आवश्यक सहयोगमा पार्टीले साथ दिने उनले स्पष्ट पारेका हुन्।

हिजो राप्रपाको केन्द्रीय कार्यालयमा बसेको संयुक्त जनआन्दोलन समितिको बैठकमा अध्यक्ष लिङ्देनले उक्त निर्णय सार्वजनिक गरेका थिए। बैठकमा सहभागी सबैले उनको घोषणालाई स्वागत गरेका छन्। राजसंस्थाका पक्षमा उभिने सबैभन्दा ठूलो दलका रूपमा राप्रपाले देखाएको जिम्मेवारीबोधको विभिन्न राजावादी नेताहरूले समेत प्रशंसा गरेका छन्।

advertisement

पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार, तीनकुने घटनामा पक्राउ परेका व्यक्तिहरूको कानुनी प्रक्रियासम्बन्धी सम्पूर्ण खर्च राप्रपाले बेहोर्ने छ। तीमध्ये पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पनि परेका छन्। प्रवक्ता श्रेष्ठले भने, “अहिलेसम्म सबैले व्यक्तिगत रूपमा पहल गरिरहेका थिए, अबदेखि सबैको जिम्मेवारी राप्रपाले औपचारिक रूपमा लिएको छ।”

अध्यक्ष लिङ्देनले पार्टीसम्बद्ध कानून व्यवसायी संगठन तथा अधिवक्ताहरूलाई आवश्यक तयारी गर्न निर्देशन दिँदै, कानुनी सहयोग निःशुल्क प्रदान गरिरहेका अधिवक्ताप्रति आभार समेत व्यक्त गरेका छन्।

स्मरणीय छ, १५ चैतमा तीनकुनेमा आयोजित राजावादी प्रदर्शन राप्रपाको आधिकारिक कार्यक्रम थिएन। उक्त आन्दोलन नागरिक बचाउ महाअभियानका अगुवा दुर्गा प्रसाईँको नेतृत्वमा गरिएको थियो, जसमा संयुक्त जनआन्दोलन समितिले पनि ऐक्यबद्धता जनाएको थियो। राप्रपा अध्यक्ष लिङ्देन भने सो कार्यक्रममा सहभागी थिएनन्।

हाल दुर्गा प्रसाईँ पनि प्रहरी हिरासतमा छन्। राप्रपाले सबैको जिम्मेवारी लिने निर्णय गरेपछि प्रसाईँसमेत त्यसमा समेटिएका हुन् वा होइनन् भन्ने विषयमा स्पष्टता छैन। पार्टी स्रोतले भने, “अध्यक्षज्यूले विशेष कसैको नाम लिनुभएको छैन। सबैको जिम्मेवारी लिने भन्नुभएकोले स्वाभाविक रूपमा उहाँ (प्रसाईँ) पनि त्यसमा पर्नुहुन्छ।”

यद्यपि, राप्रपा र दुर्गा प्रसाईँबीच विगतमा सम्बन्ध केही चिसिएको थियो। प्रसाईँले समय-समयमा सार्वजनिक रूपमा राप्रपाको आलोचना गर्ने गरेका थिए।

यो निर्णयसँगै राप्रपा राष्ट्रवादी आन्दोलनप्रति थप प्रतिवद्ध देखिएको छ भने कानुनी तथा नैतिक रूपमा आन्दोलनकारीहरूको संरक्षणमा जुट्ने संकेत दिएको छ।

प्रकाशित मिति: २९ बैशाख २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com