काठमाडौं । नेकपा (एमाले) का लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वस्वास्थ्य मन्त्री विष्णु पन्थीविरुद्ध मोरङ जिल्ला अदालतबाट झण्डै एक वर्षअघि पक्राउ पूर्जी जारी भए पनि उनी सार्वजनिक कार्यक्रमहरूमा खुलेआम देखिन थालेका छन्। बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा आयोजित एक विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै उनी अग्रमोर्चामा आसन ग्रहण गरेर सहभागी भएका छन्।

सार्वजनिक कार्यक्रममा खुलेर सहभागी भइरहे पनि सुरक्षाकर्मीहरूले पन्थीलाई पक्राउ गर्ने कुनै प्रयास नगरेको देखिन्छ। मोरङ जिल्ला अदालतले पन्थीमाथि अदालतको फैसला कार्यान्वयन नगरेको आरोपमा ६ महिनाको कैद सजाय तोकेको थियो।

advertisement

उनी सञ्चालक रहेको गौतमबुद्ध हाइड्रो पावर प्रा.लि. ले पल्लवी इलेक्ट्रा प्रा.लि. विराटनगरबाट विद्युत सामग्री उधारोमा लिएर पनि रकम नतिरेपछि अदालतमा मुद्दा परेको थियो। सोही मुद्दाका आधारमा पन्थी र उनका साझेदार देवराज खनालविरुद्ध पक्राउ पूर्जी जारी भएको हो।

मोरङ अदालतले जारी गरेको पक्राउ पूर्जी काठमाडौं जिल्ला प्रहरी परिसर, अपराध अनुसन्धान शाखा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीसहितका विभिन्न प्रहरी निकायमा पठाइसकेको छ। तर, पन्थीको राजनीतिक पहुँचका कारण अहिलेसम्म कुनै पनि निकायले उनलाई नियन्त्रणमा लिन सकेको छैन।

अदालती निर्णयको अवज्ञा गर्ने व्यक्तिहरू कानूनी दायरामा नआएर राजनीतिक संरक्षणमा घुमफिर गर्ने प्रवृत्तिले विधिको शासनप्रति प्रश्न उठाएको छ।

यस्तो अवस्थामा कानून सबैका लागि समान भन्ने अवधारणा माथि गम्भीर चुनौती खडा भएको देखिन्छ।

प्रकाशित मिति: २९ बैशाख २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com