काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकको समग्र आर्थिक सुधारलाई उच्च प्राथमिकताका साथ अघि बढाइरहेको बताएका छन्। आगामी आर्थिक वर्षको बजेट निर्माणसम्बन्धी विकास साझेदारहरूसँग आज अर्थ मन्त्रालयमा आयोजित छलफलमा बोल्दै उनले आर्थिक सुधारको प्रक्रिया आरम्भ भइसकेको र त्यसलाई अझ प्रभावकारी रूपमा अघि बढाउने तयारी भइरहेको बताए।

“केही समयदेखि आर्थिक सुधार थालेका छौँ र त्यसबाट सकारात्मक नतिजा पाइरहेका छौँ,” अर्थमन्त्री पौडेलले भने, “भविष्यमा पनि सुधार कार्यक्रमलाई उच्च महत्व दिइनेछ। अध्यादेशमार्फत गरिएका कानुनी संशोधन, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सिफारिसहरू, विभिन्न नीतिगत निर्णयहरू यसका उदाहरण हुन्।”

advertisement

उनले आगामी बजेट खासगरी निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने, उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने र समग्र अर्थतन्त्रलाई सबल बनाउनेतर्फ केन्द्रित हुने जानकारी दिए।

स्रोत सुनिश्चिताको हिसाबले सहज अवस्था नभएको स्वीकार गर्दै उनले मितव्ययिता, खर्च कटौती र सीमित स्रोतसाधनको अधिकतम प्रतिफल हुने गरी विनियोजन गरिने उल्लेख गरे। वैदेशिक सहायता नेपालको आवश्यकता र प्राथमिकतामा केन्द्रित गरिने र त्यसको प्रभावकारी सदुपयोगमा ध्यान दिइने पनि बताए।

पुँजीगत खर्चमा देखिएको समस्याको समाधानका उपायमा समेत सरकारले ध्यान दिएको जानकारी दिंदै पौडेलले संसद्मा बजेट प्रस्तुत गरेपछि सबैले त्यसलाई यथार्थपरक रुपमा मूल्याङ्कन गर्ने विश्वास व्यक्त गरे। साथै, सरकार मुलुकको समृद्धिका लागि मित्रराष्ट्र र विकास साझेदारहरूको निरन्तर सहयोगको अपेक्षा राख्ने उनले बताए।

छलफलमा अर्थ सचिव घनश्याम उपाध्यायले बजेटले आर्थिक अनुशासन र निजी क्षेत्रको आत्मविश्वास वृद्धिलाई प्राथमिकतामा राख्ने बताए। अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख धनी राम शर्माले चालु आर्थिक वर्षमा अर्थतन्त्र सुधारोन्मुख रहेको उल्लेख गरे।

छलफलमा सहभागी विकास साझेदार राष्ट्रहरू — भारत, चीन, अमेरिका, बेलायत, जापान, कोरिया, अष्ट्रेलिया, नर्वे, जर्मनी, फिनल्याण्ड, युरोपेली संघ तथा विश्व बैंक, एशियाली विकास बैंक, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरुले नेपालको बजेट निर्माण, राजस्व परिचालन, स्रोतको अधिकतम उपयोग र पारदर्शिता बढाउने विषयमा सुझाव दिएका थिए। उनीहरूले भविष्यमा पनि नेपाललाई निरन्तर सहायता रहने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com