काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चन्दा संकलन गरेर पार्टीको केन्द्रीय कार्यालय निर्माण गर्न नसकिने स्पष्ट पारेका छन्।
बनेपा नगरपालिका–१० भैंसेपाटीमा निर्माण हुन लागेको अत्याधुनिक चलचित्र छायाङ्कन स्थल (स्टुडियो) को बालुवाटारस्थित सरकारी निवासबाटै गरिएको घोषणा कार्यक्रममा सम्बोधन गर्दै ओलीले यस्तो धारणा राखेका हुन्।
भूकम्पका कारण बल्खुस्थित मदननगरको केन्द्रीय कार्यालय भत्किएपछि एमालेले हालसम्म विभिन्न स्थानमा भाडामा कार्यालय सञ्चालन गर्दै आएको छ। सुरुमा धुम्बाराहीको पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवनमा कार्यभार सम्हालेको एमालेले त्यसपछि थापाथलीस्थित भाडाको घरमा सरेको थियो। हाल पार्टीको कार्यालय ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा सञ्चालनमा रहेको छ।
तर, मनोहरा खोलाको बाढीका कारण त्यहाँ पनि समस्या आएपछि एमालेले व्यापारी मीनबहादुर गुरुङबाट कीर्तिपुर नगरपालिका क्षेत्रमा निःशुल्क जग्गा लिएर नयाँ भवन निर्माण गर्ने योजना अघि सारेको थियो। तर, व्यवसायी गुरुङ विवादास्पद रहेको भन्दै नेतृहरू बिन्दा पाण्डे र उषाकिरण तिमल्सेनालगायतले त्यस निर्णयको विरोध गरे। उनीहरूले “एक/एक रुपैयाँ चन्दा उठाएर कार्यालय बनाउने” अभियानको पक्षमा आवाज उठाएका थिए।
यसै विवादका कारण ती नेतृहरूलाई पार्टीले ६ महिनाका लागि निलम्बन गरेको थियो। तर, त्यस विषयमा अहिले ओलीले आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन्।
“हाम्रा पार्टीका केही साथीहरू भन्छन्— एक/एक रुपैयाँ चन्दा उठाएर कार्यालय बनाउँछौं,” ओलीले भने, “तर अहिले त त्यो एक रुपैयाँ साट्न पनि मुस्किल छ। एक रुपैयाँ पाइँदैन, साट्न झन् झन्झटिलो छ।”
प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलबार












प्रतिक्रिया