काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेशन ट्राफिक मोनिटरिङ तथा फ्रड कन्ट्रोल प्रणाली (टेरामक्स) खरिद प्रकरणमा व्यापक अनियमितता भएको निष्कर्ष निकाल्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले पूर्व सूचना तथा सञ्चार मन्त्री तथा नेपाली कांग्रेसका सांसद मोहन बस्नेतसहित १५ जना व्यक्ति र ३ वटा कम्पनीलाई प्रतिवादी बनाउँदै भ्रष्टाचारको अभियोगमा मुद्दा चलाएको हो।
अख्तियारको केन्द्रीय कार्यालय, टंगालद्वारा बिहीबार विशेष अदालतमा दायर गरिएको मुद्दामा उल्लेख गरिएअनुसार, टेरामक्स प्रणाली खरिदको सन्दर्भमा परामर्शदाता छनोट प्रक्रियामै ठुलो हेरफेर भएको देखिन्छ। योग्यता नपुग्ने प्रस्तावकको पक्षमा गलत प्रतिवेदन तयार पारेर छनोट गरिएको, र सोही आधारमा ठुलो रकम भ्रष्टाचार भएको आयोगको दाबी छ। आयोगले प्रतिवादीहरूबाट कुल तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो असुल उपर गर्न माग गरेको छ।
मुद्दामा सांसद मोहन बस्नेतसँगै नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, सदस्यहरू धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, पूर्व अध्यक्ष पुरुषोत्तम खनाल, निर्देशक विजयकुमार राय, उपनिर्देशकहरू रेवती राय पन्थ, सुरेश बस्नेत, हरिण्यप्रसाद वस्ताकोटी, अच्युतानन्द मिश्र, साथै निर्देशक सुरेन्द्रलाल हाडा, दीपेश आचार्य र उपनिर्देशक संदीप अधिकारी समेत प्रतिवादी बनाइएका छन्।
त्यस्तै, टेरामक्स प्रोजेक्टका परामर्शदाता भानराइज सोलुसन एसएएलका सीईओ जमल अनौती, उक्त कम्पनीका स्थानीय एजेन्ट कनेक्शन ट्रेड लिंक प्रालि र सो कम्पनीका अध्यक्ष दिलिप कुमार गुरुङ तथा निर्देशक तेजप्रसाद खरेलसमेत मुद्दामा समावेश छन्।
अख्तियारले यस प्रकरणलाई दूरसञ्चार क्षेत्रमा भएको ठूलो आर्थिक अनियमितता भन्दै, संलग्न सबैलाई कानुनी दायरामा ल्याउन विशेष अदालतमा यो कदम चालेको स्पष्ट पारेको छ।
प्रकाशित मिति: १ जेष्ठ २०८२, बिहिबार












प्रतिक्रिया