काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सत्तापक्षका प्रधानमन्त्री, मन्त्री तथा सांसदहरू प्रतिपक्षप्रति गालीगलौज र खण्डनमै केन्द्रित भइरहेको भन्दै तीव्र आपत्ति जनाएका छन्।

प्रतिनिधिसभामा आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बोल्दै पुनले लोकतन्त्रमा प्रतिपक्षको खबरदारीलाई स्वीकार गर्नुपर्नेमा जोड दिए। उनले सत्तामा बसेकाहरूले जवाफ कामबाट दिनुपर्नेमा, शब्दजालमा रमाइरहेको व्यवहार अनुचित रहेको बताए।

advertisement

“सत्तापक्षले काम गरेर जवाफ दिनुपर्छ, प्रतिपक्षको प्रश्न उठाउँदा गाली गरेर होइन। प्रतिपक्षले आफ्नो भूमिकाअनुसार खबरदारी गर्छ, सत्तापक्षले उत्तर कामबाट दिनुपर्छ,” पुनले भने, “मुखले होइन, कामले जवाफ दिने हो। सत्ताले राम्रो काम गरे प्रतिपक्ष स्वतः मौन हुन्छ।”

उनले मन्त्रीको तर्फबाट दिनुपर्ने जवाफ सत्तापक्षका सांसदहरूले दिन थालेकोप्रति पनि आपत्ति जनाउँदै भने, “सत्तापक्षका सांसदहरू मन्त्रीको स्थानमा जवाफ दिन थाल्नुभएको छ, जसले गर्दा उहाँहरू आफैँ असहज परिस्थितिमा हुनुहुन्छ।”

पुनले योजना बैंकमा सबै कार्यक्रमहरू दर्ता भइसकेपछि मात्र संसदमा सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्नु औचित्यहीन रहेको उल्लेख गरे। “चैत्र मसान्तभित्र योजना दर्ता सकिएको हो भने अहिले जेठमा आएर हामी सिद्धान्तको कुरा गर्दैछौँ। कार्यक्रम पहिले, सिद्धान्त पछि—यो प्रक्रिया नै गलत छ,” उनले भने।

उनले प्रचण्ड नेतृत्वको सरकारले यस्तो विसंगति सुधार्न अघिल्लो वर्ष नै सिद्धान्त र प्राथमिकताको छलफल तीन महिना अघिबाट सक्ने व्यवस्था गरेको स्मरण गराउँदै, वर्तमान सरकारले त्यसलाई पछ्याउन नसकेकोमा आलोचना गरे।

पुनले आफू अर्थमन्त्री रहँदा प्रतिनिधिसभा र राष्ट्रियसभामा एउटै समयमा उपस्थित हुनुपर्ने कठिनाइ सहेको प्रसंग स्मरण गर्दै अहिलेका अर्थमन्त्री विष्णु पौडेल त्यस्तो समस्याबाट जोगिएको भन्दै व्यङ्ग्य गरे। “अघिल्लो वर्ष म डेढ महिना सदनमै थिएँ, एकछिन अर्को सदनमा जाँदा अर्को बन्द गरिन्थ्यो। तर अहिलेका अर्थमन्त्रीलाई त्यसरी हैरान हुनुपरेको छैन,” उनले भने।

योजनाहरू अघि नै प्रणालीमा दर्ता भइसकेको अवस्थामा अहिले संसदमा छलफल हुनु औपचारिकता मात्र भएको उनको टिप्पणी थियो। उनले भने, “जब योजना नै टुंगिएको छ, तब सिद्धान्त र प्राथमिकता छलफल गर्ने नाममा औपचारिकता मात्र बाँकी छ। यो प्रक्रिया बदल्न जरुरी छ।”

पुनले नीति तथा कार्यक्रममा युवा पुस्ता, विशेषगरी जेनरेशन जेडको भावना र आवश्यकतालाई सम्बोधन नगरेको भन्दै सरकारमाथि आलोचना गरे। “आजको पुस्ता, जो करियरको खोजीमा छ, त्यो सबैभन्दा असन्तुष्ट छ। भर्चुअल दुनियाँमा हुर्केको त्यो पुस्ताको आवश्यकता र चाहनाबारे सोच्नैपर्ने समय यही हो,” उनले स्पष्ट पारे।

स्वास्थ्य र शिक्षामा सरकारको जिम्मेवारी कायमै रहनुपर्नेमा उनले जोड दिँदै लगानीको वातावरणमा समान प्रतिस्पर्धा र स्पष्ट नीतिको अभावले बिचौलिया वर्गको विस्तार भएको टिप्पणी गरे।

पुनले लोकतन्त्रमा प्रतिपक्षको आवाजलाई सम्मान गर्न र सरकारको जवाफ काममार्फत आउनु पर्ने धारणा दोहोर्‍याउँदै सरकारलाई जिम्मेवार बन्न आह्वान गरे।

प्रकाशित मिति: १ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com