काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएकी छन्। शुक्रबार काठमाडौंमा सुरु भएको सगरमाथा संवादको उद्घाटन सत्रमा सम्बोधन गर्दै मन्त्री देउवाले तीव्र रूपमा पग्लँदै गरेका हिमनदीहरूले पृथ्वीको असन्तुलनको संकेत गरिरहेको उल्लेख गरिन्।
“हाम्रो हिमाली क्षेत्र, जो हजारौँ वर्षको प्राकृतिक सम्पदा हो, अहिले हाम्रो आँखै अगाडि मौन रूपमा हराउँदैछ,” उनले भनिन्, “हाम्रा हिमनदीहरू स्वस्थ ग्रहको प्रतीक हुन्, तर जलवायु संकटले ती असाधारण तनावमा परेका छन्।”
उनले जलवायु परिवर्तनका प्रतिकूल असरले नेपालको पहाडी समुदायको जीवनशैली र अस्तित्वमै चुनौती उत्पन्न गरेको धारणा राखिन्। बाढी, खडेरी, हिमताल विस्फोट, वन डढेलो र पानीको अभावजस्ता चरम मौसमी घटनाले देशभर जनजीवन तहसनहस बनाएको उनले औंल्याइन्।
“नेपाल जस्तो प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको मुलुक अहिले जलवायु द्विविधामा फँसेको छ,” उनले भनिन्, “हामीलाई अब तत्काल, न्यायपूर्ण र एकीकृत अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता छ।”
परराष्ट्रमन्त्री देउवाले हिमालयलाई केवल प्राकृतिक सम्पदा होइन, नेपालको सांस्कृतिक, राष्ट्रिय गौरव र पहिचानको मेरुदण्डको रूपमा चित्रित गर्दै यसको संरक्षणका लागि अन्तर्राष्ट्रिय सरकार, निजी क्षेत्र र नागरिक समाजबीच गहिरो सहकार्य आवश्यक रहेको बताइन्।
उनले जलवायु संकटको समाधानका लागि नेपालले अन्तर्राष्ट्रिय दायित्व पुरा गरिरहेको उल्लेख गर्दै सन् २०४५ भित्र शून्य हरितगृह ग्यास उत्सर्जनको लक्ष्य लिएको जानकारी दिइन्। साथै, नेपालको सामुदायिक वन कार्यक्रमले वन क्षेत्रको विस्तार र संरक्षणमा उल्लेखनीय सफलता हासिल गरेको भन्दै यसलाई विश्वसमक्ष उदाहरणीय बनाइएको बताइन्।
“हामीले हाम्रा पूर्वजहरूबाट स्वस्थ र हरित ग्रह पाएका थियौं,” मन्त्री देउवाले भनिन्, “अब हाम्रो जिम्मेवारी हो कि भावी सन्ततिलाई पनि यही धरोहर सुरक्षित रूपमा हस्तान्तरण गरौं।”
उनले जलवायु संकटको समाधानका लागि समावेशी र न्यायपूर्ण वैश्विक गठबन्धन निर्माणको खाँचो औंल्याउँदै, जलवायु वित्तमा सुनिश्चित, पूर्वानुमानित र पर्याप्त सहयोगको आह्वान गरिन्, जसबाट नेपालले आफ्ना राष्ट्रिय तथा स्थानीय अनुकूलन योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकोस्।
प्रकाशित मिति: २ जेष्ठ २०८२, शुक्रबार












प्रतिक्रिया