काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक समाजमा मुस्लिम समुदायको संस्कृति, कला र परम्पराले विशेष स्थान ओगटेको बताएका छन्।
शुक्रबार बिहान शीतल निवासमा मक्का–मदिना हज गर्न जान लागेका हजयात्रीलाई शुभकामना दिँदै राष्ट्रपति पौडेलले मुस्लिम समुदायको योगदान र सांस्कृतिक विशेषताको प्रशंसा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन हजयात्राले सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
उनले भने, “विविध जात, भाषा र संस्कृति भएको हाम्रो मुलुकमा सबै मिलेर संरक्षण र प्रवर्द्धन गर्न आवश्यक छ। यसै माध्यमबाट आपसी भाइचारा, सद्भाव र राष्ट्रिय एकता बलियो बन्न सक्छ। हजयात्रा यसमा महत्वपूर्ण योगदान दिने यात्रा हो भन्ने विश्वासका साथ सफलताको शुभकामना व्यक्त गर्दछु।”
राष्ट्रपति पौडेलले इतिहासदेखि नै मुस्लिम समुदायले राष्ट्र निर्माणमा दिएको योगदानको उल्लेख गर्दै हजयात्रीका लागि आवश्यक सम्पूर्ण सुविधा उपलब्ध गराउन सम्बन्धित निकायले ध्यान दिने विश्वास पनि व्यक्त गरे।
“हज कार्यलाई व्यवस्थित ढंगले सञ्चालन गर्न समयानुकूल नीति, नियम र व्यवस्थामा ध्यान दिन सरोकारवाला निकायको ध्यानाकर्षण गराउन चाहन्छु,” उनले भने।
कार्यक्रममा राष्ट्रपति पौडेलले हजयात्रीलाई टोपी र गम्छा लगाएर शुभकामना दिए। मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष मोहमुद्धिन मियाँले राष्ट्रपतिबाट पहिलोपटक हजयात्रीलाई राष्ट्रपतिकै उपस्थितिमा शुभकामना दिँदै बिदाइ गरिनु गौरवको विषय भएको बताए।
प्रकाशित मिति: २ जेष्ठ २०८२, शुक्रबार













प्रतिक्रिया