काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशिम साहले देशभर पटक–पटक बत्ती जाने समस्या जनताको दैनिक जीवनको ‘नयाँ दैनिकी’जस्तै भएको भन्दै कडा आलोचना गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साहले भने, “सरकार आफैँ डार्क मोडमा सञ्चालनमा छ जस्तो देखिन्छ, अनि बत्ती झ्यापझ्याप निभाएर पूरै देशलाई पनि डार्क मोडमै लैजाँदैछ। अब त सेटिङ परिवर्तन गरेर लाइट मोडमा जानु आवश्यक भइसक्यो।”
उनले संसदमा बहस भइरहँदा अकस्मात बत्ती जाने अवस्थालाई दुरुस्त पारे पनि जनसाधारणको घरमा त्यस्तो सुविधा नरहेको भन्दै चिन्ता व्यक्त गरे। “संसदमा इनभर्टर, जेनेरेटर छ, तर आमनागरिकको घरमा के त्यस्तो सुविधा छ?”उनले प्रश्न गरे।
साहले बत्ती जाँदा नागरिकको दैनिकी प्रभावित भएको उल्लेख गर्दै भने, “खाना आधा पाकेर रोकिन्छ, मोबाइल चार्ज हुँदैन, व्यापार ठप्प हुन्छ, अन्धकार छाउँछ। हिजो साँझ मात्रै धेरै ठाउँमा एकाएक बत्ती गयो। कसैको अस्पतालमा अपरेशन रोकियो होला, कसैको परीक्षा तयारी विथोलियो होला। अहिले त न त हावा चलेको छ, न त पानी परेको छ, तर पनि झ्याप्प बत्ती जान्छ।”
ऊर्जामन्त्री वा नेपाल विद्युत प्राधिकरणका नयाँ महाप्रबन्धक कसलाई धन्यवाद दिने भन्ने विषय पनि अब स्पष्ट गर्नुपर्ने बेला आएको उनले व्यङ्ग्य गर्दै जनाए।
अन्त्यमा साहले चेतावनी दिदै भने, “यदि बिजुलीको यस्तो लुकामारी यथावत रह्यो भने, अब जनताले सरकारकै बत्ती निभाइदिने दिन टाढा छैन। अन्धकारमा जनताले सरकारको अनुहार याद गरिरहेका छन्, जुन २०८४ मा बिजुली बाल्दा पनि देखिने छैन। सरकारले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ।”
प्रकाशित मिति: २ जेष्ठ २०८२, शुक्रबार













प्रतिक्रिया