काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डडेलधुरा पुगेर नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन संवाद गरेका छन्। पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग अभियानको प्रारम्भ गर्न डडेलधुरा पुगेका प्रचण्डले देउवालाई आफ्नो आगमनबारे जानकारी दिएका हुन्।

डडेलधुरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले भने, “यो देउवाजीको जिल्ला पनि हो भन्ने भावनाले उहाँलाई फोन गरेर जानकारी गराएँ। उहाँले मलाई ‘मेरो जिल्लामा स्वागत छ’ भन्नुभयो।” उनले डडेलधुरामा आफूलाई अत्यन्तै हार्दिक स्वागत प्राप्त भएको अनुभूति पनि व्यक्त गरे।

advertisement

माओवादी केन्द्रले तराई–मधेसमा सञ्चालन गरेको हुलाकी मार्ग जागरण अभियान असाधारण रूपमा सफल भएको ठहर गर्दै प्रचण्डले यसपटक मध्यपहाडी लोकमार्गमा जनसंपर्क र संगठन विस्तार अभियान थालिएको बताए।

सरकार गठन वा परिवर्तनमा माओवादी केन्द्रको हाल कुनै चासो नरहेको बताउँदै प्रचण्डले भने, “अहिले हाम्रो प्राथमिकता सरकार बनाउने वा ढाल्ने होइन, तर हामी चिन्तित छौं कि सरकार गलत दिशातर्फ गइरहेको छ।”

उनले सरकारप्रति कडा आलोचना गर्दै भने, “सरकार सुशासन कायम गर्न सुरु गरिएका राम्रा कार्यहरू भत्काउने प्रयासमा छ। राम्रो काम गर्नेहरूलाई दण्डित गर्ने र गल्ती गर्नेहरूलाई पुरस्कृत गर्ने प्रवृत्ति बढेको छ, जुन गम्भीर चिन्ताको विषय हो।”

प्रधानमन्त्री कार्यालय आलोचकहरूलाई दुःख दिने र आफ्ना नजिकका व्यक्तिहरूलाई जोगाउने भूमिकामा लागेको आरोप लगाउँदै प्रचण्डले त्यस्तो प्रवृत्तिको विरोध गरे।

वाम एकता सम्बन्धमा बोल्दै प्रचण्डले तत्काल कुनै सम्भावना नरहेको स्पष्ट पारे। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि यसबारे कुरा भएको उल्लेख गर्दै भने, “वामपन्थी एकताको हामीले पहल गरेका थियौं, एकपटक सफल पनि भयौं। तर त्यो एकता धोका र विचलनका कारण टुट्यो। त्यसपछि फेरि प्रयास गर्दा झनै धोका खाइयो।”

उनका अनुसार अहिले मात्र होइन, २०८४ सालको निर्वाचनसम्म पनि वाम एकता सम्भव नहुने ठोस निष्कर्ष माओवादी केन्द्रले निकालेको छ। “अब ‘एनफ इज एनफ’, हामी जनतालाई बारम्बार धोका दिन सक्दैनौं,” उनले भने।

यो घोषणाले तत्काल वाम गठबन्धनका सम्भावनाहरू कमजोर बनेको संकेत गरेको छ।

प्रकाशित मिति: २ जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com