काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा विविध चलखेल भइरहेको आरोप लगाएका छन्।
शुक्रबार बैतडीको पाटनबाट सुरु गरिएको मध्यपहाडी लोकमार्ग जागरण अभियान उद्घाटन गर्दै उनले सुशासनको नाममा सरकार गलत बाटोतर्फ अघि बढिरहेको टिप्पणी गरे।
‘राष्ट्र बैंकको गभर्नरको पद खाली रहेको लामो समय भइसक्यो। यो अत्यन्त संवेदनशील र तुरुन्तै नियुक्ति हुनुपर्ने पद हो,’ प्रचण्डले भने, ‘तर सरकारले आजसम्म पनि नियुक्ति गर्न सकेको छैन। यसको पछाडि अनेक प्रकारका चलखेल छन्, जुन देश र जनताको हितविपरित छन्।’
उनले वर्तमान सरकार मजदुर, किसान र आम जनताको पक्षमा नचलेको आरोप लगाउँदै भने, ‘सरकार गलत दिशामा हिँडिरहेको छ। हामीले त्यसविरुद्ध खबरदारी गर्दै देशभर जागरण अभियान थालेका हौँ। मध्यपहाडी लोकमार्गमा अझ बलियो आवाज उठाइनेछ।’
सरकारले प्रतिपक्षी दलहरूको आवाज सुन्न नचाहेको भन्दै उनले भ्रष्टाचार र विकृतिलाई संरक्षण गर्ने हो भने त्यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिए।
साथै, उनले मध्यपहाडी लोकमार्ग माओवादीको पहलमा निर्माण सुरु भएको दाबी गर्दै भने, ‘यो मार्ग केवल सडक मात्र होइन, यो नेपालको समावेशी विकासको मेरुदण्ड हो। यसैमार्गअन्तर्गत १८८९ किलोमिटर भित्र १० वटा ठूला स्मार्ट सिटी बनाउने परिकल्पना पनि हाम्रो पार्टीको अग्रसरतामा अघि बढाइएको हो।’
प्रकाशित मिति: २ जेष्ठ २०८२, शुक्रबार












प्रतिक्रिया