काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सही विचारधाराबिना वामपन्थी एकता सम्भव नहुने स्पष्ट पारेका छन्।

एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसको अवसरमा आज मदननगर, बल्खुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले एकताको नाममा मात्र मिलन नभई साझा वैचारिक समझदारीका आधारमा पार्टीमा एकीकृत गरिनु पर्नेमा जोड दिए।

advertisement

उनले विचारमा ठोस भिन्नता नभए पनि व्यक्तिगत स्वार्थका कारण विगतमा पार्टीमा दुई धारको संघर्ष देखिएको स्मरण गर्दै भने, “नाम मात्रैको एकता गर्ने प्रवृत्तिले पार्टीलाई कमजोर बनाउँछ। वास्तवमा पार्टी सही धारमै अगाडि बढ्दै आएको छ।”

मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) को विचारले नेपाली कम्युनिष्ट आन्दोलनमा नयाँ उचाइ दिएको र निरंकुशताको आरोपको प्रतिवाद गरेको ओलीको भनाइ थियो।

प्रधानमन्त्री ओलीले मदन भण्डारीको विचार केवल राजनीतिक लोकतन्त्रमा सीमित नभई, आर्थिक, सामाजिक र मानव अधिकारसम्बन्धी राष्ट्रिय नीतिको रुपमा स्थापित भइसकेको उल्लेख गरे।

जनताकै समर्थनलाई शक्ति स्रोत मानेर जनताले अनुभूति गर्नसक्ने शासन व्यवस्था निर्माण गर्ने दिशामा आफूहरू अग्रसर रहेको बताउँदै, उनले देशभक्ति, राष्ट्रिय स्वाधीनता र अखण्डताप्रतिको मार्ग कहिल्यै नत्यागेको दाबी गरे।

विश्वमा दक्षिणपन्थी सोच, जातीय विद्वेष र अराजकताका कारण वामपन्थी आन्दोलनमा परेको असरलाई स्मरण गर्दै ओलीले विविधतालाई सांस्कृतिक समृद्धिको आधार मानी, एकता र शान्तिपूर्ण प्रतिस्पर्धाको बाटो अख्तियार गरिएको बताए।

उनले मदन भण्डारीलाई समयअनुकूल कम्युनिष्ट आन्दोलनलाई मार्गदर्शन गर्ने दूरदर्शी नीतिकारका रुपमा स्मरण गर्दै, भण्डारीको वैचारिक नेतृत्वमा पार्टीलाई लोकप्रियता र दुईतिहाइको समर्थनसम्म पु¥याउन सफल भएको धारणा राखे।

कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, जीवराज आश्रितकी पत्नी माया ज्ञवालीलगायतको उपस्थिति थियो।

प्रकाशित मिति: ३ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com