काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापानकी उपविदेशमन्त्री इकुइनो अकिकोबीच आज शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटका क्रममा मन्त्री डा. राणाले सगरमाथा संवादमा सहभागी भएकोप्रति उपमन्त्री अकिकोलाई धन्यवाद ज्ञापन गरिन्।
त्यसैगरी, सिन्धुली–बर्दिवास सडकको पुनर्निर्माण तथा मर्मतकार्यका लागि सहयोग प्रदान गरेकोमा जापान सरकारप्रति आभार व्यक्त गर्दै उनले सो सहायताले नेपाल–जापान सम्बन्ध अझ प्रगाढ भएको उल्लेख गरिन्। अघिल्लो वर्षको अविरल वर्षाका कारण उक्त सडकमा ठूलो क्षति पुगेको थियो। नेपाल सरकारको अनुरोधमा जापान सरकारले उक्त सडक पुनःनिर्माणका लागि सहयोग उपलब्ध गराएको हो।
भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, आर्थिक सहकार्य तथा सामाजिक विकास लगायतका विविध विषयमा छलफल भएको मन्त्री राणाको सचिवालयले जनाएको छ। मन्त्री राणाले विगत लामो समयदेखि नेपालका विभिन्न क्षेत्रमा जापानले पुर्याउँदै आएको सहयोगप्रति समेत कृतज्ञता प्रकट गरिन्।
उनले नेपालको तर्फबाट अन्तर्राष्ट्रिय मञ्चमा उठाइँदै आएको जलवायु न्यायको मुद्दामा जापानको ऐक्यबद्धता र सहयोग अपेक्षित रहेको धारणा पनि राखेकी थिइन्।
प्रकाशित मिति: ३ जेष्ठ २०८२, शनिबार












प्रतिक्रिया