काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) विरुद्ध योजनाबद्ध आक्रमण भइरहेको बताएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित एक विशेष पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। कार्यक्रममा विभिन्न पृष्ठभूमिका युवाहरू एमालेमा प्रवेश गरेका थिए। सम्बोधनका क्रममा ओलीले अहिले संसारभरि अनेकौं किसिमका कुप्रचार र भ्रम फैलाउने काम भइरहेको भन्दै त्यसको मुख्य निशानामा एमाले रहेको उल्लेख गरे।
“यस्तो समयमा शिक्षित, प्राविधिक ज्ञान हासिल गरेका र जीवनोपयोगी शिक्षा लिएका युवाहरू नेकपा (एमाले) मा प्रवेश गर्नु नेपाल निर्माणको भिजनसहितको महत्वपूर्ण कदम हो,” प्रधानमन्त्री ओलीले भने। उनले एमाले युवाहरूको ऊर्जा र क्षमतालाई सकारात्मक दिशामा लगेर राष्ट्र निर्माणमा संलग्न गराउने प्रतिबद्धता दोहोर्याए।
ओलीले युवाहरुलाई सही मार्गमा अघि बढाउने र अरुलाई पनि त्यसै मार्गमा डोर्याउने दृढ संकल्प आवश्यक रहेको बताए। “गलत बाटोमा लाग्दिन, अरुलाई पनि त्यसमा लाग्न दिन्न भन्ने अठोट राख्नुपर्ने समय आएको छ,” उनले भने।
उनका अनुसार नेकपा (एमाले) जनताको हकअधिकार र राष्ट्रको समृद्धिका लागि लड्ने पार्टी हो। उनले एमालेलाई उत्ताउलो नभई जिम्मेवार राजनीतिक दलका रूपमा अगाडि बढिरहेको उल्लेख गरे।
ओलीले पार्टीमा प्रवेश गर्ने युवाहरूलाई स्वागत गर्दै राष्ट्र निर्माणको यात्रामा हातेमालो गर्न आह्वान गरेका छन्।
प्रकाशित मिति: ३ जेष्ठ २०८२, शनिबार












प्रतिक्रिया