काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले क्रान्तिकारी सोच बोकेका व्यक्तिहरूलाई अग्रपंक्तिमा उभ्याउन पार्टी लागि परेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संघ (समाजवादी) को सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले समसामयिक राजनीतिक परिस्थितिमा प्रतिगामी तत्वहरू फेरि सक्रिय हुन थालेको भन्दै त्यसविरुद्ध एकताबद्ध भएर संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याए।
“कम्युनिस्ट आन्दोलनमा समय–समयमा देखा परेका विकृति र विसंगतिहरूका बीच संघर्ष गर्दै हामीले क्रान्तिकारी सोच र दृष्टिकोणका साथ जनतालाई संगठित गर्दै आन्दोलनलाई अगाडि बढाइरहेका छौं,” अध्यक्ष नेपालले भने, “देशको विशेषता र यथार्थ बुझ्न सक्नुपर्छ। सफलतालाई उपयोग गर्न नसक्दा हामी कहिलेकाहीं कमजोर पनि भएका हौं।”
उनले कम्युनिस्ट आन्दोलनले नै जनतालाई अधिकार र मुक्ति दिलाएको दाबी गर्दै समाजवादको सपना साकार पार्न कम्युनिस्ट पार्टीबाहेक अन्य विकल्प नरहेको स्पष्ट पारे।
“हामीले आफ्ना कमजोरीलाई स्वीकार गर्दै आग्रह–पूर्वाग्रह बिना जनताको पीडा बुझ्दै अघि बढ्नुपर्छ,” उनले थपे, “जनताको समस्या बुझेर, असमानताको विरुद्ध लडेर मात्र आन्दोलनको सार्थकता देखिन्छ। चाहे त्यो सामन्ती सोच होस् वा सामाजिक कुरीति—हामी निरन्तर प्रतिरोधमा छौं।”
अध्यक्ष नेपालले लोकतन्त्रमाथि पुनः खतरा देखिएको भन्दै विगतमा जनताले अस्वीकार गरिसकेको प्रतिगामी शक्तिले फेरि टाउको उठाउने प्रयास गरिरहेको जिकिर गरे। “त्यसका विरुद्ध हाम्रो पार्टी आन्दोलनमा छ,” उनले जोड दिए।
प्रकाशित मिति: ३ जेष्ठ २०८२, शनिबार












प्रतिक्रिया