काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्रलाई हाल गम्भीर खतरा बढिरहेको बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित अखिल नेपाल महिला संघ (समाजवादी) को सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जनताले अस्वीकार गरिसकेका प्रतिगामी शक्तिहरू फेरि सक्रिय बन्ने कोसिसमा लागेको उल्लेख गरे। उनले ती तत्वहरूको विरुद्धमा एकजुट हुन एकीकृत समाजवादी आन्दोलनले अग्रपंक्तिमा रहेर भूमिका खेलिरहेको स्पष्ट पारे।
उनले कम्युनिष्ट आन्दोलनले नै नेपाली जनतालाई मुक्ति दिलाएको बताउँदै समाजवादको लक्ष्यमा पुग्नका लागि कम्युनिष्ट पार्टीबाहेक अरु विकल्प नभएको दाबी गरे।
अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनभित्र देखिएका विकृति र विसंगतिहरूका विरुद्ध लड्दै त्यसलाई नयाँ उचाइमा पुर्याउनु आजको आवश्यकता रहेको बताए।
उनले वर्तमान राष्ट्रिय परिस्थितिको विश्लेषणका आधारमा कम्युनिष्ट आन्दोलनलाई सशक्त रूपमा अगाडि बढाउने विषयमा गम्भीर छलफल आवश्यक रहेको धारणा राखे।
प्रकाशित मिति: ३ जेष्ठ २०८२, शनिबार












प्रतिक्रिया