काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। शनिबार संघीय संसद् भवन, नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा उनीहरूले सरकार आफ्ना सुझाव र आवाजलाई बेवास्ता गर्दै एकलौटी ढंगले अघि बढिरहेको गुनासो गरेका हुन्।
बैठकमा सांसदहरूले विभिन्न संवैधानिक पदमा गरिनुपर्ने नियुक्ति बिना कारण रोकिएको, बजेट वितरणमा असमानता रहेको र पार्टीको सहमति विना निर्णय लिइएको विषय उठाएका थिए। कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले गभर्नर नियुक्ति र बजेटको समुचित वितरणबारे बैठकमा विशेष छलफल भएको जानकारी दिए।
उनले प्राविधिक कारणले गभर्नर नियुक्तिमा ढिलाइ भएको स्पष्ट पार्दै नेकपा (एमाले)ले कांग्रेसलाई अवरोध गरिरहेको भन्ने आरोप निराधार भएको बताए। साथै, सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको भेटवार्ता स्वाभाविक रहेको र त्यसले गठबन्धन परिवर्तनको संकेत नदिएको उनको भनाइ थियो।
त्यस्तै, कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले दुई प्रमुख दलबीचको गठबन्धनका कारण कांग्रेस सांसदहरूको आवाज पर्याप्तरूपमा नसुनिएको आशंका देखिएको बताए। उनले केही नियुक्ति प्रक्रियामा भइरहेको ढिलाइप्रति सांसदहरू चिन्तित रहेको जानकारी दिए।
नेता महतले सभापति देउवा र प्रचण्डबीचको संवाद सामान्य राजनीतिक प्रक्रिया भएको जिकिर गर्दै, त्यसलाई सरकार परिवर्तनको संकेतका रूपमा नबुझ्न आग्रह गरे। कांग्रेसले सरकार परिवर्तनको कुनै तयारी नगरेको स्पष्ट गर्दै बैठकले वर्तमान सरकारमा कांग्रेसको भूमिकाबारे गम्भीर समीक्षा गरेको देखिन्छ।
प्रकाशित मिति: ३ जेष्ठ २०८२, शनिबार












प्रतिक्रिया