काठमाडौं — काभ्रेपलाञ्चोकको बनेपामा उद्योग सञ्चालनका लागि हदबन्दी छुटमा लिएको जग्गा अनियमितता सम्बन्धी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठ र पतञ्जली आयुर्वेद कम्पनीका संस्थापक योगगुरु रामदेव र उनका साझेदार आचार्य बालकृष्णलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ।
तर, नेपालस्थित पतञ्जलीका प्रमुख शालीग्राम सिंह नै उक्त जग्गा कारोबारका जिम्मेवार व्यक्ति रहेको दाबी गर्दै रामदेव र बालकृष्ण दुवैले बयान दिन अस्वीकार गरेका छन्।
अख्तियारको अनुसन्धानबाट सन् २०१५ यता पतञ्जली योगपीठ नेपालमा करिब १ अर्ब ५१ करोड रुपैयाँ भित्रिएको खुलेको छ। तर उक्त रकम वैदेशिक लगानी वा समाज कल्याणसम्बन्धी कानुनी व्यवस्था अन्तर्गत नभई रेमिट्यान्सका नाममा ल्याइएको पाइएको छ। एसबीआई बैंक र एभरेस्ट बैंकमार्फत रेमिट्यान्समार्फत रकम भित्र्याइएको हो। यसबारेमा नेपाल राष्ट्र बैंकले समेत छुट्टै छानबिन गरिरहेको छ।
बनेपास्थित ३५३ रोपनी १५ आना जग्गा पतञ्जलीले ४ करोड २२ लाख ५० हजार रुपैयाँमा बिक्री गरेको देखाइएको छ भने, धुलिखेलमा १०४ रोपनी १ आना २ पैसा १ दाम जग्गा १ करोड ७ लाख ५० हजारमा खरिद गरिएको सरकारी अभिलेखमा उल्लेख छ।
तर, अख्तियारका एक अधिकारीका अनुसार यथार्थमा ४० करोडभन्दा बढीको लेनदेन भए पनि दस्तावेजमा मूल्य न्यून देखाएर राजस्व छलिएको आशंका गरिएको छ। ती अधिकारीका अनुसार, “१ रोपनी जग्गा १ लाख रुपैयाँमा किनबेच भएको देखाइएको छ, जुन तथ्याङ्क विश्वास गर्नै नसकिने खालको हो।”
सरकारबाट विशेष प्रयोजनका लागि हदबन्दी छुटमा प्राप्त उक्त जग्गा हिनामिना गरिएको अभियोगमा अख्तियारले एक वर्षदेखि अनुसन्धान गरिरहेको छ। यस क्रममा जग्गा खरिद–बिक्रीसम्बन्धी निर्णय प्रक्रियामा संलग्न तत्कालीन प्रधानमन्त्री, सचिव पन्त, पतञ्जली नेपालका प्रमुख सिंह, मालपोत कार्यालय, भूमि व्यवस्था विभाग तथा सम्बन्धित मन्त्रालयका कर्मचारीहरूसँग बयान लिइसकेको छ।
उक्त प्रक्रियामा संलग्न तत्कालीन मुख्यसचिव सोमलाल घिमिरे २०७३ साल असोज ९ गते त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए भने भूमिसुधार मन्त्री रहेका केशवकुमार श्रेष्ठको निधन २०८१ असोज २१ गते भईसकेको छ।
प्रकाशित मिति: ४ जेष्ठ २०८२, आइतबार













प्रतिक्रिया