काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चार वडाध्यक्षलाई कार्यपालिका अन्तर्गतका समितिहरुको संयोजक पदबाट हटाएपछि महानगरभित्रको राजनीतिक तानातान चुलिएको छ । पाँच महिनादेखि कार्यपालिका बैठक नबसी आएका मेयर शाहले अब एकलौटी निर्णय गर्दै आएको भन्दै वडाध्यक्षहरू असन्तुष्ट भएका छन् ।

वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले मेयर शाहले महानगर सञ्चालनको मूल धार नबुझेको आरोप लगाएका छन् । उनले भने, “मेयरले सचिवालयको भरमा महानगर चलाउन खोज्नु भयो । नीति, योजना र प्रक्रियागत कामहरू कसरि अघि बढाउने भन्ने कुरामा जानकारी छैनजस्तो देखिन्छ । हामीले बुझाउन खोज्दा पनि उहाँ तयार हुनु भएन । यसरी महानगर सञ्चालन हुँदैन ।”

advertisement

तण्डुकारले संघ र प्रदेश सरकारसँग सहकार्य गरेर मात्र स्थानीय सरकार सफल हुनसक्ने धारणा राखेका छन् । उनले थपे, “उहाँको सोच भनेको तोडफोड र प्रदर्शन हो, त्यो पनि नियमसम्मत ढंगले नभएको देखिन्छ । यसरी त महानगर असफल हुने निश्चित छ ।”

महानगरका प्रवक्तासमेत रहेका वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धरले कार्यपालिका बैठक नबोलाउने मेयरको व्यवहारप्रति आपत्ति जनाउँदै, अदालत जाने अवस्था भए पनि आफूहरू त्यसबाट टाढा रहेको बताएका छन् । “महिनौँ भयो, कार्यपालिका बैठकको माग राखेको । तर, अहिलेसम्म कुनै प्रतिक्रिया छैन । अदालत जाने विकल्प छ तर हामी वडा स्तरमै आफ्नो भूमिका निभाउँछौँ,” उनले भने ।

मानन्धरका अनुसार वडाध्यक्षहरूलाई संयोजक पदबाट हटाउनु कार्यपालिका बैठक टार्न र प्रतिशोध स्वरूप गरिएको कदम हो । अन्तिम पटक कार्यपालिका बैठक पुस ८ गते बसेको जानकारी उनले दिएका छन् ।

बालेनले जेठ १ गते सूचना प्रविधि समितिका संयोजक नवीन मानन्धरको स्थानमा वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीलाई जिम्मेवारी दिएका थिए । त्यस्तै, सुशासन समितिबाट वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारीलाई हटाई वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्कीलाई संयोजक तोकिएको छ ।

यस्तै, सम्पदा तथा पर्यटन समितिमा वडा नम्बर ८ का अध्यक्ष आशामान संगतको स्थानमा वडा नम्बर २४ का अध्यक्ष विनोदकुमार राजभण्डारी र विधायन समितिमा वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनको सट्टा वडा नम्बर १६ की अध्यक्ष रोजिना श्रेष्ठलाई संयोजक बनाइएको छ ।

महानगर स्रोतका अनुसार मेयर बालेन प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँग सहकार्य गर्न इच्छुक छैनन्, जसले गर्दा आगामी आर्थिक वर्षको बजेटसमेत अन्योलमा परेको छ ।

यसरी, काठमाडौं महानगरमा नेतृत्वको स्पष्टता अभाव, संवादको कमी र कार्यशैलीको भिन्नताले गम्भीर प्रशासनिक संकट उत्पन्न भएको देखिन्छ ।

प्रकाशित मिति: ४ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com