काठमाडौँ । सर्लाहीको भरतपुर नगरपालिकाका तत्कालीन नगरप्रमुख भरत थापाविरुद्ध चौथो पटक भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापासहित आठ जनालाई सरकारी सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत र सर्लाही जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
आयोगले आइतबार मधेश प्रदेशका पूर्वअर्थमन्त्री विजय यादव, तत्कालीन उपप्रमुख लिलाकुमारी मोक्तान, प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना प्रमुख इन्जिनियर निरञ्जन लामिछाने, लेखा अधिकृत विश्वास पोखरेल, इन्जिनियर सागर पौडेल र प्रदेश सरकारका कानुन अधिकृत गोकुल भुजेललाई पनि प्रतिवादी बनाउँदै मुद्दा अघि बढाएको छ।
यसअघि आयोगले २०८० चैत २८ गते र २०८१ जेठ २९ गते थापाविरुद्ध दुई फरक अभियोगपत्र दायर गर्दै झण्डै ३५ करोड ३० लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोप लगाएको थियो। पछिल्लो पटक, आयोगले यही साता सर्लाही जिल्ला अदालतमा तेस्रो मुद्दा दायर गरेसँगै थापाविरुद्ध चौथो मुद्दा दायर भएको हो।
आयोगका अनुसार भरतपुर नगरपालिका–४ र १२ नम्बर वडामा बागमती माछापोखरी निर्माणको लागि अर्थ मन्त्रालयबाट प्राप्त अनुदानको दुरुपयोग गर्दै मिलेमतोमा झण्डै ५६ करोड ७१ लाख रुपैयाँ बराबरको भ्रष्टाचार भएको ठहर गरिएको छ।
अख्तियारले यो कार्यलाई योजनाबद्ध रूपमा गरिएको गम्भीर भ्रष्टाचारको उदाहरणको रूपमा प्रस्तुत गर्दै कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रकाशित मिति: ४ जेष्ठ २०८२, आइतबार













प्रतिक्रिया