काठमाडौं । प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले सत्तारूढ दल नेपाली कांग्रेसले करोडौं रुपैयाँ उठाउने नियतका साथ उपसभामुख हटाउने तयारी गरिरहेको आरोप लगाएका छन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोलेका सांसद सिंहले जेठ महिनाभित्र उपसभामुखलाई हटाएर आफ्नो मान्छे नियुक्त गर्ने षड्यन्त्र कांग्रेसले गरिरहेको दाबी गरे। उनले यो कदम संवैधानिक निकायहरूमा स्वार्थपूर्ति र आर्थिक लेनदेनको लागि चालिएको आरोप लगाए।

advertisement

“पूर्वसचिवहरूलाई म आग्रह गर्न चाहन्छु—१०–१५ करोड रुपैयाँ लिएर तयार बस्नुस्, पैसा बुझाउनेलाई नै नियुक्त गरिन्छ,” सांसद सिंहले भने, “कांग्रेसलाई पैसाबाहेक अरू केही चाहिएको छैन, उनीहरू आगामी चुनावको लागि पैसा उठाउने अभियानमा लागेका छन्।”

उनले कांग्रेस र एमालेले मिलेर उपसभामुख हटाउने छलफल सुरु गरिसकेको भन्दै यो खेल सत्ता र पदको भागबन्डाका लागि भइरहेको बताए। साथै, कांग्रेसले संवैधानिक परिषद्मा आफ्नो मान्छे लैजाने र अधिक पैसा दिने व्यक्तिलाई नियुक्त गर्ने तयारी गरिरहेको पनि उनको आरोप छ।

जनजाति, महिला र मधेशीमाथि विभेदको आरोप

सांसद सिंहले कांग्रेसमाथि आदिवासी जनजाति र महिलामाथि विभेद गरेको गम्भीर आरोप समेत लगाए। उनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र ऊर्जाराज्यमन्त्री कान्छाराम तामाङलाई कांग्रेसले जानाजान हटाएको बताए।

“लोडसेडिङ गर्न कांग्रेसले दुई जना जनजातिका छोरालाई बलि दियो—कुलमान घिसिङ र कान्छाराम तामाङ,” उनले भने।
उनले केही समयअघि एकजना महिला सिनियर भए पनि सचिव बन्न नदिएको र त्यो मन्त्रालय अझै कांग्रेसको नियन्त्रणमा रहेको पनि उल्लेख गरे ।

नेपाली कांग्रेसका पूर्वनेता समेत रहेका सिंहले कांग्रेस पार्टीले आदिवासी जनजाति, महिला र मधेशी समुदायलाई बेवास्ता गरेको भन्दै २०८४ सालको निर्वाचनमा कांग्रेसलाई भोट नदिन आग्रह गरे।

“२०८४ को चुनावमा पनि २०६४ कै शैलीमा कांग्रेसलाई डाँडा कटाउनुस्,” उनले भने, “कांग्रेसलाई जनताको बीचमा जान लायक बनाउनु पर्दैन।”

प्रकाशित मिति: ४ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com