काठमाडौं । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी अध्ययन उपसमितिको संयोजकमा नेपाली कांग्रेसकी प्रतिनिधिसभा सदस्य मन्जु खाण चयन भएकी छन्।
यसअघि सो उपसमितिको संयोजक नेकपा (एमाले) का सांसद तथा पूर्वपर्यटनमन्त्री योगेश भट्टराई थिए। तर, वैशाख २१ गते बसेको सार्वजनिक लेखा समितिको बैठकमा भट्टराईले आफू संयोजकको जिम्मेवारीमा नरहने घोषणा गरेका थिए।
उनको राजीनामापछि आइतबार उपसमितिको बैठकले सदस्यहरूमध्येबाट कांग्रेस सांसद खाणलाई संयोजकमा चयन गरेको हो। सोही बैठकले भैरहवा विमानस्थलको स्थलगत अध्ययन भ्रमण गर्ने निर्णय समेत गरेको छ।
पूर्वपर्यटनमन्त्री भट्टराई संयोजक भएपछि रास्वपा सांसद मनीष झाले उपसमिति नेतृत्वप्रति प्रश्न उठाएका थिए। उनले भट्टराईकै कार्यकालमा विमानस्थल निर्माणसम्बन्धी निर्णयहरू भएका कारण अध्ययन रिपोर्टको निष्पक्षतामाथि आशंका उत्पन्न हुन सक्ने तर्क गरेका थिए।
त्यसपश्चात भट्टराईले आफू मन्त्री भइसकेको नाताले उपसमितिको संयोजक बस्न उचित नहुने भन्दै जिम्मेवारीबाट अलग हुने जानकारी दिएका थिए।
उपसमितिको नयाँ संयोजक चयन गर्ने आइतबारको बैठकमा भने एमाले सांसद भट्टराई र रास्वपाका सांसद झा अनुपस्थित थिए।
प्रकाशित मिति: ४ जेष्ठ २०८२, आइतबार













प्रतिक्रिया