काठमाडौं । कांग्रेसका सांसद अमरेशकुमार सिंहले पार्टी सभापति शेरबहादुर देउवामाथि गम्भीर आरोप लगाएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा भाग लिँदै सिंहले देउवाले नेपाली कांग्रेसलाई नेकपा (एमाले) मा विलय (मर्ज) गराउने कसम खाएको दाबी गरे।
“कांग्रेस सभापतिले कसम खाएका छन्— म सभापति रहेको बेलासम्म पार्टीलाई सिध्याउँछु। विगतमा जसरी राजासँग सम्झौता गरेर कांग्रेसलाई कमजोर बनाइएको थियो, अहिले पनि एमालेसँग मिलेर त्यही खेल दोहोर्याउन लागिएको छ,” सिंहले भने।
उनले पार्टीभित्रको पछिल्लो गतिविधि र निर्णयहरूलाई लक्षित गर्दै उपसभामुख इन्दिरा रानालाई राजीनामा दिन बाध्य पार्ने प्रयास भइरहेको र त्यो आगामी चुनावका लागि आर्थिक स्रोत जुटाउने योजनाको हिस्सा भएको बताए।
“कांग्रेस अहिले जनताको बीचमा जानुपर्छ भन्ने सोच्दैन, पैसा जुटाएर चुनाव जितिन्छ भन्ने भ्रममा छ। त्यसका लागि जनजाति समुदायकी एउटी महिलालाई उपसभामुख पदबाट हटाउने चलखेल हुँदैछ, जुन हामीलाई स्वीकार्य छैन,” उनले चेतावनी दिए।
सिंहले कांग्रेस नेतृत्वमाथि लैंगिक र जातीय विभेदको आरोप समेत लगाए। “०८४ को निर्वाचनमा कांग्रेस मधेसी, जनजाति र महिला समुदायको बीचमा जानुपर्ने हो कि होइन? कांग्रेसले मधेसी महिलालाई सचिव बन्न नदिएको घटना हामीले देख्यौं। एउटी महिला, जो सहसचिवमा नम्बर एक थिइन्, सिनियर पनि थिइन्, उनलाई सचिव नबनाउनुको एक मात्र कारण— उनी मधेसी महिला थिइन्,” उनले बताए।
सिंहले उक्त महिलाले भ्रष्टाचारमा संलग्न नभएकाले पनि सचिव बन्न नसकेको दाबी गरे। “कांग्रेसको मन्त्रालय भएर पनि, त्यो अन्याय रोकिएन। यसबाट कांग्रेस उन्मुक्ति पाउन सक्दैन,” उनले भने।
त्यसैगरी, उनले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको गिरफ्तारीमा पनि देउवाको भूमिका रहेको आरोप लगाए। “कांग्रेसकै गृहमन्त्रीमार्फत देउवाले टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका रेशम चौधरीलाई नाटकीय ढंगले पक्राउ गर्न लगाएका थिए। यो सुदूरपश्चिम, थारु समुदाय र समग्र पहिचानमाथिको प्रहार हो,” सिंहले आरोप लगाए।
अन्त्यमा उनले थारु, मधेसी, तामाङ, मगरलगायत सबै समुदायलाई अपिल गर्दै भने, “०८४ को चुनावमा कांग्रेसलाई आफ्नै दैलोबाट बिदा गरौं।”
प्रकाशित मिति: ४ जेष्ठ २०८२, आइतबार












प्रतिक्रिया