काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा बनेका सरकारले मुलुकको समृद्धि, सुशासन र सामाजिक न्यायको क्षेत्रमा ऐतिहासिक रेकर्ड कायम गरेको दाबी गरेका छन्।
मध्यपहाडी लोकमार्ग अन्तर्गत आइतबार दैलेख सदरमुकाममा आयोजित एक सभालाई सम्बोधन गर्दै उनले मुलुकको समग्र विकासका लागि आफू नेतृत्वको सरकारले ल्याएका योजनाहरूले दीर्घकालीन असर पार्ने विश्वास व्यक्त गरे।
पूर्व–पश्चिम हुलाकी मार्ग, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी मार्ग तथा उत्तर–दक्षिण जोड्ने करिडोरहरू आफ्नो नेतृत्वमा सुरु गरिएको उल्लेख गर्दै प्रचण्डले भने, “गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीको रूपमा मैले राष्ट्रिय एकताको सन्देश दिन मध्यपहाडी लोकमार्गको प्रस्ताव अघि सारेँ। यो मार्ग दलित, श्रमिक, जनजाति र उत्पीडित समुदायको आवश्यकता सम्बोधन गर्ने माध्यम बनेको छ।”
उनले माओवादी केन्द्रको परिकल्पनामा प्रस्ताव गरिएको मदन भण्डारी लोकमार्गले पनि जनताको जीवनस्तर सुधारमा टेवा पुर्याउने बताए।
प्रचण्डले दोस्रो कार्यकालमा १८ घण्टाको लोडसेडिङ अन्त्य गर्नु सरकारको ठूलो सफलता भएको स्मरण गराए। “तेस्रोपटक प्रधानमन्त्री बनेपछि भ्रष्टाचारविरुद्ध कडा अभियान सञ्चालन गर्यौँ। अहिले सरकारको अवधि भित्र हामीले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा इतिहासमै नमेटिने गरी योगदान दिएका छौँ,” उनले भने।
आगामी निर्वाचनतर्फ संकेत गर्दै उनले माओवादी अब कांग्रेस वा एमालेको समर्थनबिना पनि जनताको साथमा चुनाव जित्ने स्थितिमा पुगेको बताए। “२०८४ को चुनावमा २०६४ को भन्दा धेरै सिट जितेर देखाउँछौं,” प्रचण्डको दाबी थियो।
प्रकाशित मिति: ४ जेष्ठ २०८२, आइतबार












प्रतिक्रिया