काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसंघको हानि–नोक्सानी कोष (Loss and Damage Fund) का कार्यकारी निर्देशक इब्राहिम चैख डाइओङले शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा प्रधानमन्त्री ओलीले सगरमाथा संवादको पहिलो शृंखलामा सहभागिता जनाएकोमा कार्यकारी निर्देशक डाइओङप्रति आभार व्यक्त गरे। उनले जलवायु परिवर्तनका असरहरूबाट हिमाली क्षेत्र असुरक्षित बन्दै गएकाले विश्व समुदायको ध्यान त्यतातर्फ केन्द्रित हुनु आवश्यक रहेको धारणा व्यक्त गरे।

advertisement

प्रधानमन्त्री ओलीले वातावरण संरक्षण र जलवायु सन्तुलन कायम राख्न सगरमाथा र अन्य हिमालहरूको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताए। साथै, केही धनी राष्ट्रहरूले पेरिस सम्झौताबाट पछि हट्न खोजिरहेको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनले जलवायु संकटको असर नेपाल मात्र होइन, सम्पूर्ण मानव समुदायका लागि खतराजनक हुने उल्लेख गरे।

कार्यकारी निर्देशक डाइओङले सगरमाथा संवादजस्तो महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेकामा नेपाललाई बधाई दिँदै, हानि–नोक्सानी कोषमार्फत नेपालजस्ता जलवायु जोखिममा रहेका मुलुकलाई प्राथमिकतामा राखेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

शिष्टाचार भेटका क्रममा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकाललगायत अधिकारीहरूको उपस्थिति थियो।

जलवायु परिवर्तनबाट प्रभावित विकासोन्मुख राष्ट्रहरूलाई सहयोग गर्न कोप–२७ को निर्णयअनुसार स्थापना गरिएको यस कोषमा पेरिस सम्झौताका हस्ताक्षरकर्ता २६ मुलुक, विकसित राष्ट्रहरूबाट १२ र विकासोन्मुख मुलुकहरूबाट १४ जना बोर्ड सदस्य रहने व्यवस्था गरिएको छ।

यस कोषको बोर्डमा नेपालका तर्फबाट वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकाल आमन्त्रित सदस्यका रूपमा प्रतिनिधित्व गर्दै छन्।

प्रकाशित मिति: ४ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com