काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ गतेदेखि काठमाडौंमा सुरु हुने आन्दोलन शान्तिपूर्ण हुने स्पष्ट गरेका छन्। सुनसरीको इनरुवामा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले आन्दोलनबारे अनावश्यक भ्रम फैलाउने प्रयासहरू भइरहेको भन्दै यसको खण्डन गरे।

“कुनै डर वा भ्रममा नपरी काठमाडौं आउनुहोस्। गणतन्त्र र धर्मनिरपेक्षता अस्वीकार गर्ने अधिकार संविधानले नै दिएको छ,” थापाले भने, “संविधानको धारा २७४ ले जनताले विकल्प खोज्ने अधिकार स्वीकार गरेको छ। त्यसैले गणतन्त्रको विकल्प खोज्नु संविधानविरोधी होइन।”

advertisement

सरकारलाई चेतावनी दिँदै उनले अनावश्यक हस्तक्षेप, बल प्रयोग र दुष्प्रचारमा समय नखर्चिन आग्रह गरे। उनले वर्तमान शासनप्रणालीलाई “कुशासन र भ्रष्टाचारको पर्याय” भन्दै यसविरुद्ध जनता जागिसकेको दाबी गरे।

“यो कुनै विदेशी प्रभाव वा उक्साहटमा आधारित आन्दोलन होइन। यो राष्ट्रवादी आन्दोलन हो, नेपाली जनता आफैं मिलेर देशको हितका लागि अगाडि बढ्न लागेका हौं,” उनले बताए। देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको, युवावर्ग देशबाट पलायन भइसकेको, धर्म परिवर्तन तीव्र गतिमा बढेको, बेरोजगारी र कुशासन चरम अवस्थामा पुगेको भन्दै उनले यस्तो बेलामा जनता विकल्प खोज्न बाध्य भएको बताए।

संवाद र सहमतिको माध्यमबाट समाधान निकाल्न सकिने भएकाले गणतन्त्रवादीलाइ सहमतिमा आउन पनि उनले आह्वान गरे।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार तथा सुनसरी जिल्ला विकास समितिका पूर्व सभापति रमेश श्रेष्ठ, इनरुवाका पूर्व उपमेयर माधव पोखरेलसहित दर्जनौँ नेता तथा कार्यकर्ताहरू राप्रपा नेपालमा प्रवेश गरेका थिए। आन्दोलनको तयारीस्वरूप अध्यक्ष थापा हाल विभिन्न जिल्लाको दौडाहामा छन्।

कार्यक्रममा राप्रपा नेपालका नेताहरू तारानाथ लुइँटेल, तेज कुरुङ्वाङ, बल्लभ दाहाल, माधव आचार्य, रामबिलास मेहतालगायतले पनि सम्बोधन गरेका थिए।

प्रकाशित मिति: ४ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com