काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखमा रहेको पेट्रोलियम खानीको अन्वेषण माओवादी नेतृत्वको सरकारले सुरु गरेको दाबी गरेका छन्।

दैलेखको एक सर्वपक्षीय जनसंवाद कार्यक्रममा सहभागी भएका दाहालले उक्त जिल्लामा पेट्रोलियम पदार्थको सम्भावना रहेको पुष्टि गर्दै पहिलोपटक अन्वेषणको प्रक्रिया माओवादी सरकारकै पालामा थालिएको स्पष्ट पारे।

advertisement

उनका अनुसार अनुसन्धानका लागि आवश्यक नमूना परीक्षणका लागि चीन पठाइएको छ। उनले भने, “नमूना चीन पठाइएको जानकारी प्राप्त भएको छ, म काठमाडौं फर्किएपछि चिनियाँ पक्षसँग थप छलफल गर्नेछु।”

कार्यक्रममा अध्यक्ष दाहालले स्थानीय राजनीतिक दल, उद्योग वाणिज्य संघ, नागरिक समाज, पत्रकार महासंघलगायतका सरोकारवालासँग जिल्लाको समग्र विकास, पूर्वाधार विस्तार, पर्यटन तथा औद्योगिक सम्भावनाबारे विचारविमर्श गरेका थिए।

कार्यक्रम माओवादी केन्द्र जिल्ला समन्वय समिति, दैलेखको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा अध्यक्ष दाहाल नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टिमको पनि सहभागिता रहेको थियो।

उद्योग वाणिज्य संघ, दैलेखले जिल्लाका प्राथमिक आवश्यकता समेटिएको मागपत्र दाहाललाई बुझाउँदै मध्यपहाडी लोकमार्ग अभियानलाई अगाडि बढाएकोमा आभार व्यक्त गरेको थियो। सहभागीहरूले अभियानले जिल्लाको विकासको सम्भावना उजागर गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले भने, “यहाँ दलहरूबीच देखिएको एकता प्रशंसनीय छ। यो अभियान अब कुनै एक दलको मात्र नभई सबैको साझा प्रयास हो। यहाँ उठाइएका मागहरूलाई म राष्ट्रिय तहमा दृढतापूर्वक प्रस्तुत गर्नेछु।”

उनले राजनीतिक दल, व्यवसायी, सञ्चारकर्मी, कर्मचारीलगायत सबै पक्षको सक्रियताले अभियान सर्वपक्षीय बनेको उल्लेख गर्दै यसलाई थप प्रभावकारी बनाउन सबैको निरन्तर सहकार्य आवश्यक रहेको बताए।

दैलेखमा करिब १२५ किलोमिटर लामो खण्ड पर्ने मध्यपहाडी लोकमार्गलाई उनले सबैभन्दा लामो खण्डका रूपमा प्रस्तुत गरे।

दाहालले उत्तर–दक्षिण लोकमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी मार्गको अवधारणालाई आर्थिक तथा व्यावसायिक गतिविधि विस्तार गर्ने दीर्घकालीन योजनासँग जोडेर अघि बढाइएको स्पष्ट पारे।

“मध्यपहाडी लोकमार्गले बसाइँसराइ घटाउँदै पहाडी क्षेत्रमा व्यवस्थित सहर निर्माण, पर्यटन तथा उद्योग प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ,” उनले भने, “तर वैदेशिक रोजगारी र बसाइँसराइको प्रवृत्ति अझै पनि उस्तै रहेको कुरा चिन्ताजनक छ।”

प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com