काठमाडौँ । सत्ताको नेतृत्वकर्ता नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले विपक्षीले ‘पब्लिक कन्जम्सन’का लागि वर्तमान सरकारले केही गर्न सकेन भन्ने भ्रम फैलाइरहेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको विशेष समयमा बोल्दै उनले वर्तमान सरकार केही गर्न असफल भएको भन्ने विपक्षीहरूको प्रचार ‘पब्लिक कन्जम्सन’का लागि मात्रै भएको बताए।
‘कांग्रेस र एमालेको सरकार भएकाले मुलुकमा विकास हुन सकेन भन्ने अभिव्यक्तिहरू संसददेखि सार्वजनिक मञ्चसम्म आइरहेका छन्,’ प्रमुख सचेतक बर्तौलाले भने, ‘तर यस्ता टिप्पणीहरू केवल जनतालाई प्रभावित पार्ने प्रयोजनका लागि गरिएको हो। उहाँहरू सरकारमा हुँदा के कस्ता काम भएका थिए भन्ने कुरा हामी सबैलाई थाहा छ। जनतामा कति ठूलो निराशा थियो, त्यो हामीले महसुस गरेका थियौँ।’
उनले हालको सरकार जनअपेक्षा पूरा गर्ने दिशामा गम्भीरतापूर्वक लागिरहेको र निराशालाई आशामा बदल्ने प्रयास भइरहेको जिकिर गरे।
बर्तौलाले सांसदहरूले निर्वाचनमा जनतासँग गरेका बाचा पूरा गर्न आफ्ना क्षेत्रका विकास योजनामा पहल गर्नु स्वाभाविक कुरा भएको उल्लेख गरे।
‘विकासका योजना अघि बढाउन सांसदहरूको पहल अस्वाभाविक होइन,’ उनले भने, ‘जनतासँग गरिएका वाचा कार्यान्वयनमा ल्याउनु हाम्रो कर्तव्य हो।’
प्रमुख सचेतक बर्तौलाले सरकारप्रति विश्वास राख्न र निरन्तर प्रगति हेर्न नागरिकलाई आग्रह समेत गरे।
प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार












प्रतिक्रिया