काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको घटनापछि उत्पन्न परिस्थितिबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले सरकारसँग गम्भीर प्रश्न उठाएकी छिन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्रीसँगको प्रश्नोत्तर सत्रमा सहभागी हुँदै सांसद गौतमले घटनामा घाइते भएकाहरूको वर्तमान अवस्था, उपचार, कुरुवा व्यवस्थापन, पुनर्स्थापना तथा क्षतिपूर्तिको अवस्थाबारे स्पष्ट जानकारी माग गरिन्।

advertisement

उनले प्रश्न गर्दै भनिन्, “तीनकुने घटनामा गोली लागी घाइते भएका व्यक्तिहरूको अहिलेको अवस्था के हो? उनीहरूको उपचारमा राज्यले के कस्तो सहयोग गरिरहेको छ? कुरुवाको लागि के व्यवस्था गरिएको छ? र समाजमा पुनर्स्थापना तथा रोजगारीको सुनिश्चितताका लागि के गरिएको छ?”

सांसद गौतमका प्रश्नको जवाफ दिंदै गृहमन्त्री रमेश लेखकले घटनाबारे अनुसन्धान अझै जारी रहेको जानकारी दिए। उनले बताएअनुसार, सो घटनामा घाइते भएकामध्ये दुई जनाको उपचार हाल पनि जारी छ भने बाँकीले स्वास्थ्यलाभ गरी घर फर्किसकेका छन्। गृहमन्त्री लेखकले सरकारले घाइतेहरूको सम्पूर्ण उपचार निःशुल्क रूपमा गरिरहेको पनि स्पष्ट पारे।

“सरकारले घटनाको गम्भीरताका साथ अध्ययन गरिरहेको छ,” गृहमन्त्री लेखकले भने, “अन्य सबै व्यवस्था प्रचलित कानुनअनुसार हुनेछन्। पुनर्स्थापना तथा रोजगारी सुनिश्चितताका लागि पनि सरकारले आवश्यक कदम चाल्नेछ।”

सांसद गौतमले आफ्नो धारणा राख्दै भनिन्, “घटनाका पीडितका लागि सरकारले जिम्मेवारीपूर्वक काम गरोस् भन्ने हाम्रो आग्रह छ। मैले उठाएको विषयलाई गृहमन्त्रीज्यूले गम्भीरतापूर्वक लिनुभएकोमा धन्यवाद दिन चाहन्छु।”

उक्त घटनाले सिर्जना गरेको सामाजिक तथा मानविय असरप्रति संसदमा देखिएको गम्भीरता र सरोकारले पीडितहरूप्रति सहानुभूति तथा उत्तरदायित्वको भावना झल्काएको छ।

प्रकाशित मिति: ५ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com